विदेशमा नेपाल चिनाइरहेका ‘आकाश’

हङकङ।नेपाली जनशक्ति मात्र होइन नेपाली उत्पादन पनि विदेशमा गइरहेको छ।
दैनिक २ हजार नेपाली युवायुवति रोजगारका लागि देश छोडेका मात्र छैनन्, नेपाली हस्तकला तथा स्वदेशी उत्पादनहरु विदेशमा बिक्रि वितरण पनि भइरहेका छन्।
नेपाली हस्तकला विदेशी भूमीमा पुग्दा हरेक नेपाली खुसी हुन्छन्।
हो, नेपाली हस्तकला तथा स्वदेशी उत्पादनलाई विगत १२ वर्षदेखि विदेशी बजारमा बिक्रि वितरण गरिरहेका छन् गोरखाका आकाश बञ्जारा।
हङकङलाई कर्म थलो बनाइरहेका आकाश जहाँ गए पनि नेपाली हस्तकलालाई बजारीकरण गरिरहेका छन्।
पहिला ताइवानमा कर्मथलो बनाएका आकाश विगत ६ वर्षदेखि हङकङमा आफूलाई स्थापित गरिरहेका छन्। विदेशमा नेपाल चिनाइरहेका छन्, आकाशले।
हङकङमा विभिन्न स्थानमा शोरुम खोलेर नै नेपाली हस्तकला तथा स्वदेशी उत्पादन बिक्रि वितरण गरिरहेका आकाशको प्रयास दिनदिनै सफलतातिर लम्किरहेको छ।
उनी भन्छन्–‘मैले विगत १२ वर्षदेखि नेपाली हस्तकलालाई नै प्रमोट गरिरहेको छु। म जहाँ गएपनि नेपाली हस्तकलासँगै लिएर हिडिँरहेको छु।’
उनले नेपाली हस्तकलालाई हङकङमा केन्द्र बनाएर स्थानीय बजार र विश्वबजारमा पनि पठाइरहेका छन्।
नेपालमा बनेका थान्का, मूर्ति, हस्तकला तथा र अन्य गरगहनाका सामानहरु उनले मुख्यरुपमा विक्रि वितरण गरिरहेका छन्। काठबाट बनेका सामाग्रीहरु धेरै रुचाइने उनको बुझाइ छ।
आकाशको अर्को विशेषता भनेको उनी योगा तथा साउण्ड हिलिङ प्रशिक्षक पनि हुन्। उनी योगा तथा साउण्ड हिलिङको तालिम दिनका लागि हङकङमा मात्र होइन एसियन मुलुकमा पुगिरहन्छन्। शनिवार र आइतबारको लागि उनको समय लिनेहरुको लाइन नै लाग्ने गर्दछ।
आकाशले नेपालमा सिङ्गिङ् बउलको उत्पादन आफै गर्दै आएका छन्। नेपालबाट विश्व बजारमा उनले सिङ्गिङ् बउल पठाइरहेका छन्।
उनी भन्छन्–‘पछिल्लो समय मैले सिङ्गिङ् बउलको प्रोडक्सन गरिरहेको छु। यसको फिडब्याक धेरै राम्रो आइरहेको छ।’
श्वबजारमा अहिले मेडिटेशन तथा उपचारका लागि सिङ्गिङ् बउल अत्यावश्यक बनिरहेको छ ।
‘नेपालकको हिमालयबाटै सुुरु भएको हिलिङ पद्धति पछिल्लो समय पश्चिमेली मुलुकहरुले प्रयोग गर्न थालेका छन्। त्यसैले अहिले मैले योगा र साउण्ड हिलिङलाई विशेष गरेर फोकस गरेको छु। विभिन्न वाद्यवादनहरुको माध्यमबाट साउन्ड हिलिङ गर्ने गरेको छु, जुन निकै प्रभावकारी र महत्वपूर्ण बन्दै गइरहेको छ,’ उनले भने।
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) हङकङको अध्यक्ष समेत रहेका आकाश युवाहरुलाई उद्यमशिलता विकासमा लाग्नलाई प्रेरित गरिरहेका छन्।
हङकङमा रहेका युवा उद्यमीहरुलाई एकिकृत गरेर आकाशले सामुहिकरुपमा उद्यमशिलता विकासमा काम गर्ने र लगानी बढाउने बताएका छन्।
नेपाली युवाहरुलाई उद्यमी बनाउने र बनिसकेका उद्यमशिल युवाहरुलाई ब्यापार विस्तारमा सहयोग पुर्याउने फिनेको लक्ष्य रहेको छ। त्यसका लागि आकाशले नेतृत्व गरेर अगाडि बढिरहेका छन्।
आकाशले व्यवसायिक सफलता मात्र होइन सामाजिक कार्यलाई पनि उत्तिकै अगाडि बढाएका छन्।
उनले मातृबिहीन दमौलीकी ९ वर्षीया कृपा थापा र काठमाडौंकी सदिक्षा श्रेष्ठलाई कलेजस्तरसम्म पढाउने जिम्मा लिएका छन्।
उनले मानवसेवा आश्रम, चेपाङ संरक्षण केन्द्रमा आश्रय लिइरहेकाहरुलाई निरन्तर आर्थिक सहयोग गर्दै आएका छन्।