जी–२०सम्मेलन : चीनविरुद्ध प्रदर्शन
काठमाडौं भारतमा जी–२० को शिखर सम्मेलन भएको छ। भारतको राजधानी नयाँ दिल्लीमा शनिबारदेखि जारी जी–२० सम्मेलन आज आइतबार सकिएको छ।
जी–२० मा भारतसँगै चीन, फ्रान्स, जर्मनी, इन्डोनेशिया, इटलीलगायत १९ देशका सदस्य छन्। विश्वका यी देशहरुको सम्मेलन भारतमा भइरहेको समयमा जी–२० सम्मेलनस्थलबाट केही किलोमिटर टाढा मजनुका टिला क्षेत्रमा भने अस्वभाविक गतिविधि देखिएको छ।
त्यहाँ जी–२० को एक मुख्य सदस्य राष्ट्र चीनविरुद्ध गतिविधि भएको छ। चीनबाट भागेर भारतमा निर्वासित तिब्बतीहरुले भारतमा आएका चीनका नेताहहरुविरुद्ध प्रदर्शन गरे।
चीनबाट तिब्बतलाई अलग राष्ट्र बनाउने योजना बनाएका पृथकतावादी तिब्बतीहरुले मजनुका टिलामा शनिबार प्रदर्शन गरेका छन्। उनीहरुले चीनले तिब्बतमाथि अतिक्रमण गरेको आरोप लगाउँदै तिब्बत स्वतन्त्रताको पक्षमा नारावाजी गरे।
तिब्बतीयन युथ कांग्रेसका केही दर्जन सदस्यहरुले चिनियाँ प्रतिनिधिमण्डलविरुद्ध गरेको प्रदर्शनलाई आयोजक राष्ट्र भारतले भने नियन्त्रण गर्न चाहेन। उसले देखेपनि नदेखे झैँ गर्यो। चीनले भने त्यसलाई नोटिसमा राखेको छ।
६ दशक पहिले चीनबाट भागेर आएका दलाई लामा र उनका समर्थकहरुलाई भारतले आश्रय दिँदै आएको छ। भारतले बेलाबेलामा चीनविरुद्ध तिब्बत कार्ड खेल्ने गरेको छ। स्वतन्त्र तिब्बत पक्षधरहरुले भारतमा विभिन्न समयमा चीनविरुद्ध प्रदर्शन गर्दै आएका छन्।
तर जी–२० को आयोजक राष्ट्र भारतले अतिथि राष्ट्र चीनविरुद्ध भएको प्रदर्शनलाई नरोकेर अन्तराष्ट्रिय शिखर सम्मेलनको बीचमा पनि तिब्बत कार्ड खेलेको हो कि भन्ने प्रश्न चिनियाँहरुको मनमा उब्जाइदिएको छ।
जी–२० जस्तो बहुपक्षीय फोरमलाई कुनै सदस्य राष्ट्रविरुद्ध तुष्टिकरणको राजनीति गर्न खोज्नुलाई कुटनीतिक मामिला जानकारहरुले पनि राम्रो मानेका छैनन्।
तिब्बती प्रदर्शनकारीले जी–२० का पश्चिमा अतिथिहरुको ‘अटेन्सन’ हासिल गर्न चीनविरुद्ध प्रदर्शन गरेका हुन्। यद्यपि, तिब्बतीहरुले पछिल्लो समय चीनविरुद्ध गतिविधि बढाउन खोजेपनि त्यो सफल देखिएको छैन।
स्वतन्त्र तिब्बतको गतिविधिलाई अमेरिका लगायतका पश्चिमा राष्ट्रहरुले मलजल गरिरहेका छन्। उनीहरुको राजनीतिक एवं कुटनीतिक भरथेग र पूर्ण आर्थिक सहयोगमा ६ दशकदेखि संचालित स्वतन्त्र तिब्बत अभियान भने कहिल्यै सफल हुनसक्ने अवस्था भने छैन।