रोविनको उम्मेदवारीले एनआरएनए वृत्तमा तरङ्ग

रोविनको उम्मेदवारीले एनआरएनए वृत्तमा तरङ्ग

काठमाडौं। आउँदो अक्टोबरमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौँ महाधिवेशनको मिति नजिकिँदै गर्दा त्यसको तयारी र उम्मेदवारी घोषणाको लहर बाक्लिन थालेको छ।

एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) मा पुग्नका लागि अहिले विश्वभरि छरिएका नेपाली आ–आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन्। सदस्यदेखि पदाधिकारीसम्म हुन खोजिरहेकाहरूले आ–आफ्ना एजेन्डाहरू सार्वजनिक गर्दै धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्।

उम्मेदवारी घोषणाको यही लहरमा उभिएकामध्ये रोविन प्रसाद शेरचन पनि एक हुन्। विश्वभरि नेपालीमाझ चिनिएका उनी एक बलियो दाबेदार पनि हुन्।

लामो समयदेखि जापानमा बस्दै आएका रोविन सामाजिक कार्यमा परिचित नाम हो। काम खोज्दै ३६ वर्षअघि जापान पुगेका रोविन उतै पढेर त्यहीँ आफ्नो व्यवसाय जमाए।

औँलामा गन्न भ्याइने नेपाली थिए त्योबेला जापानमा। एनआरएनएका बारेमा विश्वमा बस्ने कुनै नेपालीले समेत परिकल्पना नगरिसकेको त्योबेलामा रोविनले जे सके जापानमै बसेर गरे।

मन भयो भने समाजका लागि, आफ्नो समुदायका लागि काम गर्न कुनै संघसंस्था चाहिन्छ भन्ने जरुरी हुन्न।

सन् २००३ तीरमात्रै एनआरएनएको औपचारिक ‘न्वारान’ हुँदै गर्दा जापानबाटै रोविनले नेपाल र विश्वभरि रहेका अरू नेपालीहरूसँग जोडिइसकेका थिए।

‘मलाई त्यहाँ गएर पनि गर्नु त के नै छ र ! सबै काम मैले एनआरएनए नजन्मिँदै पनि गर्दै आएको थिएँ। एनआरएनएमा जोडिएपछि पनि गरिरहेको छु’, रोविन भन्छन्, ‘हो यो एउटा ठूलै सञ्जाल हो। नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित बनाएर चिनाउनसक्ने एउटा फोरममा मैले पनि योगदान गर्न सकूँ भनेर उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको हुँ।’

सुरु–सुरुमा जापानमा चिनिएका रोविन विस्तारै विस्तारै विश्वभरि नै चिनिन थाले। विश्वको जुनसुकै कुनामै होस् जहाँ जहाँ नेपालीलाई समस्या पर्थ्यो, त्यहाँ रोविन हुन्थे। वा उनले पठाएको ‘सहयोग’ पुग्थ्यो। धेरैका लागि त्यो जीवनको वरदानै पनि भएको छ।

भर्खरै बन्दै गरेको जापानमा काम खोज्न पुगेका रोविनलाई थाहा छ, श्रमिकको पीडा कस्तो हुन्छ भनेर। विदेशी भूमिमा पैसा कमाउनका लागि गर्नुपर्ने संघर्ष, त्यसको सामना र पीडाहरू उनी आफैँले बोध गरेका छन्।

‘एक समयमा आएर मैले आफ्नै विजनेस सुरु गरेँ। रेस्टुरेन्ट व्यापार राम्रै चल्यो। मैले धेरैलाई रोजागरी पनि दिएँ। केही पैसा पनि कमाएँ। अनि फेरि घरजग्गाको काममा पनि हात हालेँ’, रोविन भन्छन्, ‘त्योबेला पर्दा पछि भएर काम गरेँ। अब विश्वभरका नेपालीसँग एकाकार भएर नेपाल र नेपालीका लागि अझै केही गर्न मन छ।’

आफन्त, अग्रज र सहपाठीहरूसँगको सल्लाहमा अब नेतृत्वमा पुग्ने यात्रा थालेका रोविनलाई आश छ– धेरै गैरआवासीय नेपालीलाई उनको उम्मेदवारीलाई समर्थन गर्नेछन्। अनि उनले नेपालीकै लागि काम गर्ने एउटा विश्वव्यापी संस्थाको नेतृत्वमा पुग्न सहयोग पाउनेछन्।

‘मैले त गर्दै आएको कामलाई संस्थागत गर्न र अझ जिम्मेवार हुनका लागि यो उम्मेदवारी दिन लागेको हुँ’, उनी भन्छन्, ‘बाहिर बसेर केही गर्नै नपाइने वा गर्नै नसकिने होइन। तर, एउटा विश्वव्यापी सञ्जालमा बसेर गरेका कामहरू अनि नीतिगत कुराहरूले सबैलाई फाइदा नै हुन्छ।’

त्यसो त रोविन एनआरएनएमा औपचारिक रुपमा जोडिएको धेरै भएको छैन। अहिले उनी केन्द्रीय सदस्य छन्। तर, पर्दा पछाडी बसेर एनआरएनए अभियानमा उनले निरन्तर सहयोग पुर्‍याउँदै आएका थिए। एनआरएनएले सञ्चालन गर्दै आएका हरेक परोपकारी कार्यमा उनले हातेमालो गर्थे। सहयोगी भावना र मिलनसार स्वभाव भएका उनले जापानवासी नेपालीको मन जितेका छन्। रोविनलाई उपाध्यक्षमा अघि सार्न उनै जापानवासी नेपालीको जोडबल हो।

‘जीवनका ३६ वर्ष यो भूमिमा बिताएको छु। तर, नेपाल र नेपालीकै माझमा छु। मैले यहाँ रहेका होस् वा आफ्नै जन्मभूमिमा रहने नेपालीका लागि सकेको सहयोग गरेको छु’, रोविन भन्छन्, ‘अझै गर्नुपर्ने धेरै काम छन्। देशका लागि गर्नुपर्ने कामहरू छन्। नेपालीका लागि गर्नुपर्ने काम छन्। गैरआवासीय नेपालीका लागि गर्नुपर्ने थुप्रै कामहरू छन्।’

अनि रोविनलाई लाग्छ, ‘त्यसका लागि एउटा जिम्मेवारी बोक्न चाहन्छु। जसले म अब नेपाल र नेपाली समाजकै लागि संस्थागतरुपमा केही गर्न सकूँ।’

आउँदो चुनावबाट संघमा ६ जना उपाध्यक्ष आउनेछन्। विश्वभरबाट उपाध्यक्षमा इच्छा देखाउनेहरुको संख्या ठूलो छ। रोविनको उम्मेदवारीलाई अथपूर्ण रुपमा हेरिएको छ। उनको उम्मेदवारीमा धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन्। सहयोग गर्ने प्रतिबद्धता जनाउँदै हौसला बढाइरहेका छन्।

कतिपयले भने उनलाई हतार गरेको पनि भनेका छन्। अहिले रोविनले विश्वभरका नेपालीसँग सम्पर्क गरिरहेका छन्। सल्लाह–सुझाव मागिरहेका छन्।

‘जापानका नेपालीलाई त मेरो बारेमा सबै कुरा अवगत नै छ। अन्य देशमा भएकालाई थाहा हुने कुरा भएन। कतिपयको मप्रति चिन्ता पनि छ। नयाँ अनुहार, चाँडै भयो कि भन्ने। यो चिन्ता जायज हो,’ रोविन भन्छन्, ‘तर, मलाई पहिलेदेखि चिन्नेलाई मेरो बारेमा राम्रोसँग थाहा छ। मलाई चिन्नेहरूले अहिले मेरो क्याम्पेनिङ गर्नुभएको छ। मैले पनि सकेसम्म आफै सम्पर्क गर्ने कोशिस गरिरहेको छु। क्रियाशिल पदमा नबसेपनि अभियानमा मैले सहयोग गर्दै आइरहेको थिएँ। नयाँ होइन, मेरो पुरानै अनुहार हो।’

रोविनलाई लाग्छ– अब कुनै पद लिएर सक्रिय भूमिका निभाउने बेला भइसक्यो। त्यसैले त उनी उपाध्यक्ष जस्तो जिम्मेवार पदमा जाने निर्णयमा पुगे। संस्थामा लिनलाई होइन दिनलाई जानुपर्छ भन्ने मान्यता उनको छ।

भन्छन्, ‘म सक्षम भइसकेको छु। परेकाबेला सामाजिक कार्यमा सहयोग गर्न कमाएको पनि छु। जन्मभूमि र प्रवासी नेपालीका लागि केही गरौँ भन्ने मेरो इच्छा हो। अबको मेरो बाटो भनेको मात्र समाजसेवा हो। त्यसैले जिम्मेवार पद रोजेको हुँ।’

रोविनलाई आफ्नो टीममा ल्याउन अध्यक्षका तीनै जना प्रत्यासी महेश श्रेष्ठ, डा. बद्री केसी र आरके शर्माले जोडबल गरिरहेका छन्। रोविनले भने अझै कुनै टीम समाइसकेका छैनन्।

संघभित्र हुने राजनीतिमा घुलमिल भइनसकेका उनलाई सबै गैरआवासीय नेपाली समान लाग्छ। त्यसैले त उनले सबैलाई आफ्नै सम्झिएर भनिरहेका हुन्छन्,  ‘मलाई त अरु केही थाहा छैन। यो र त्यो टीममा लागेको छैन। सहयोग गर्दिनुहोला।’

चुनावकाबेला उनलाई प्रवासमा बस्ने जनजाति समुदायको पनि दरिलो सहयोग हुनेछ।

यो पनि पढ्नुहोस्

एनआरएनएमा छलाङ मार्दैछन् जापानका रोविन…