चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण, भारतले रच्यो इतिहास

चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण, भारतले रच्यो इतिहास

काठमाडौं। करिब डेढ अर्ब भारतीय सपना बोकेर लम्किएकाे चन्द्रयान–३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ।

करिब ८ करोड डलर खर्चेर तयार गरेको चन्द्रयान–३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेकाे वैज्ञानिकहरूले बताएका छन्। यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका थिएनन्।

चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनले आ–आफ्ना यान सफलतापूर्वक अवतरण गराएका छन्।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो।

चन्द्रयान–३ सँग भारतका अनेक महत्वाकांक्षी सपनाहरू गाँसिएका छन्।

भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेकाे छ। उक्त ध्रुव चन्द्रमामा कम अन्वेषण गरिएको भाग हो।

अब चन्द्रयान–३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नेछ। पानीको स्रोतका रूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने भारतीय वैज्ञानिकहरू बताउँछन्।

चन्द्रयान–३ को अवतरणपछि प्रधानमन्त्री मोदीले इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) को नियन्त्रण कक्षमा उपस्थित र सम्पूर्ण भारतीयहरूलाई बधाई दिँदै ‘भारत अब चन्द्रमामा पुगेको’ बताएका छन्।