कृषिमन्त्री भुसाल र कोरियाली राजदूतबीच कृषि क्षेत्रको विकासबारे छलफल
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तइयोङबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित कृषि मन्त्रालयमा आज भएको भेटघाटमा दुई देशबीचको सम्बन्धन एवं सहयोग अदानप्रदान बारेमा छलफल भएको छ।
भेटमा दुई देशबीच १९७४ सालदेखि कूटनैतिक सम्बन्ध रहँदै आएको र अहिले पनि त्यो सम्बन्ध सुमधुर रहेको मन्त्री भुसालले बताए।
कोरिया नेपालको घनिष्ट मित्र र भरपर्दो साझेदार रहेको बताउँदै मन्त्री भुसालले कोरियाले नेपालको आर्थिक–सामाजिक विकाशमा महत्वपूर्ण सहयोग गरेको बताए।
‘कोरियाले पहिलेका दिनहरूमा पनि नेपाललाई सहयोग गर्दै आएको छ। हामीबीच रहेको सम्बन्धन अझै बलियो बनाउँदै अगाडि बढनुपर्छ। अहिलेसम्म कोरियाले गरेको सहयोगका लागि हामी धन्यवाद व्यक्त गर्न चाहन्छौं’, मन्त्री भुसालले भेटका क्रममा भने।
राजदूत तइयोङले कोरिया गरिबीबाट अगाडि बढेको मुलुक भएको र त्योबेला नेपालले कोरियालाई गरको सहयोग स्मरण गरे।
‘कोरिया निकै गरिबीबाट अगाडी बढेको मुलुक हो। हामीलाई त्योबेलामा नेपालले सहयोग गरेको थियो र अहिले हामी दिन सक्ने अवस्थामा छौँ, नेपालले मागेको सहयोग गर्न सक्ने अवस्थामा छौँ। नेपालको आर्थिक विकासका लागि हामी सहयोग गर्न चाहन्छौं’, राजदूत तइयोङले भने।
अहिले नेपाली कामदार कोरियामा ११ हजारभन्दा बढी कृषि पेशामा रहेको बताउँदै उनले अहिले जति श्रमिक कृषि पेशामा छन्, १० वर्षपछि नेपालमा आएर कृषि पेसामा लाग्ने विश्वास व्यक्त गरे।
‘हाम्रो मुलुकमा काम गरेर फर्किने श्रमिकले पैसा र सीप दुबै आर्जन गर्ने छन् र त्यो आफ्नो दक्षता नेपालको कृषि उत्पादनमा लगाउने छन्’, राजदूत तइयोङले भने।
आगामी नोभेम्बरसम्ममा कोरियाका कृषिमन्त्री नेपाल भ्रमण गर्नेबारेमा समेत मन्त्री भुसाल र राजदूत तइयोङका बीचमा छलफल भएकाे छ। सोही क्रममा मन्त्री भुसालले दुई देशबीचमा एउटा (एमओयू) तयार गरी अगाडि बढाउने प्रस्तावसमेत राखेका छन्।
जवाफमा राजदूत तइयोङले कोरिया कृषिबाट नै अगाडि बढेकाले देश विकाशमा कृषि क्षेत्रको ठुलो भुमिका रहेको बताउँदै कोरियाले नेपाललाई सहयोग गर्न चाहेको बताए। साथै कोरियाली मन्त्री नेपाल भ्रमण गर्नुभन्दा पहिले (एमओयू) तयार गर्ने र भ्रमणको बेला हस्ताक्षर हुने गरी अगाडि बढ्ने उनले बताए।