थाई नेपालीकाे आँखामा टल्किरहेको ‘नेपाली सपना’

थाई नेपालीकाे आँखामा टल्किरहेको ‘नेपाली सपना’

काठमाडौं। थाई नेपाली संघ र गैरआवासीय नेपाली संघ थाइल्यान्डको एउटा प्रतिनिधिमण्डलले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेको छ।

मंगलबार थाई नेपाली संघकी अध्यक्ष वासना राई, संरक्षक कुमार कार्की, एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेत नेतृत्वको प्रतिनिधिमण्डलले सभामुख घिमिरेलाई भेटेरै ‘गैरआवासीय नेपाली परिचयपत्र’ उपलव्ध गराउन आग्रह गरेकाे छ।

थाइल्यान्डमा लगभग नब्बे हजार नेपालीभाषी बसोबास गर्छन्। अहिले थाइल्यान्डमा बसोबास गर्ने नेपालीहरू दोस्रो विश्व युद्धताका म्यान्मार हुँदै थाइल्यान्ड पुगेका नेपालीका चौथो पुस्ता हुन्।

नेपालीभाषीहरू थाइल्यान्डमा ‘नेपाली जीवन’ बाँचिरहेका छन्, उनीहरू आफूलाई नेपाली भनेरै चिनाउँछन्। थाइल्यान्डका नेपालीभाषीहरू नेपालसँगको नाता टुटाउन चाहँदैनन्।

नेपालमा नागरिकताको चलन नहुँदै प्रवासियाका म्यान्मार, थाइल्यान्ड, मलेसिया र फिजीका नेपालीहरूले नेपाल सरकारसँग ‘पिपुल अफ नेपाली अरिजन’ अर्थात् पीएनओ कार्ड उपलव्ध गराउन आग्रह गदै आएका छन्।

नेपाल सरकारले आफूहरूलाई एनआरएनए कार्डमार्फत् नेपाली परिचय दिनुपर्ने बताउँछन् थाई नेपाली संघका संरक्षक कुमार कार्की।

‘सरकारलाई हाम्रो आग्रह छ– नेपाल सरकारले हामीहरूलाई एनआरएनए कार्ड देओस्, म्यान्मार, थाइल्यान्ड, मलेसिया र फिजीका नेपालीहरूको नागरिकतामा अहिलेपनि नेपाली वा गोर्खा लेखिएको छ। नेपाल सरकारले पनि हामीहरूलाई यिनीहरू नेपालीमूलका मानिसहरू हुन् भनेर परिचय दिनुपर्छ,’ उनले भने।

एउटा विशाल देश थाइल्यान्डमा नेपाली अस्तित्वको जर्गेना गर्दैछन् नेपालीभाषीहरू। बर्सेनि नेपालबाट कलाकार बोलाएर सांस्कृतिक उत्सवमा रमाउँछन्। हप्तादिनसम्म तीज र तिहार मनाउँछन्।

परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिसा र अन्य सुविधाबाट बञ्चित हुनु परेको तथा नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्यान्डकी अध्यक्ष वासाना राईले बताइन्।

थाइल्यान्डमा प्रत्येक नेपालीको आँखामा सपना टल्किरहेको हुन्छ। स्वादिष्ट सडक–खानादेखि पाँच तारे होटलसम्मै नेपालीहरू भरिभराउ छन्। समुन्द्रीतटदेखि टापुसम्मै काम तथा व्यवसाय गर्छन्। थाई कमाइले परिवारको गुजारा चलाउँछन्। कतिपय साहुजन छन्।

कतिपय नेपालीहरू आफैंले व्यापार गर्छन्। ट्याक्सी चलाउँछन्। सडकमा खाना बेच्छन्। सानातिना सटर खोलेका छन्। घर–जग्गाको कारोबारमा जमेका छन्। महाजनको घरमा काम गर्छन्। कतिपय थाई विद्यालयमा पढाउँछन्। उद्योग, कलकारखानासम्मै नेपालीहरू पुगेका छन्।

नेपालीहरू थाइल्यान्डमा छरिएर बसेका छन्। बैंकक, फुकेट, मेसाई, पटाया, चियाङमाई, होहिन र कसोमोईलगायत सहरमा नेपाली वंशजका थाई नेपाली छन्। नेपाली पहिचान खोज्दै भौतारिन्छन्, थाई नेपाली। उनीहरू नेपाली पहिचानकाे कागजपत्र माग्दै सिंहदरबारसम्म आइपुगेका छन्।



No ads found for this position