आरके शर्माको अडान : म कुनैपनि हालतमा ब्याक हुँदिन

आरके शर्माको अडान : म कुनैपनि हालतमा ब्याक हुँदिन

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आउँदो कार्यकालका लागि अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार शर्मा (आरके) ले आफू पछि नहट्ने बताएका छन्।

प्रवास खबरसँगकाे कुराकानीमा शर्माले आफू सम्पूर्ण रुपले नेतृत्व हाँक्न सक्षम रहेको भन्दै पछि नहट्ने बताए।

आफू अध्यक्षका लागि स्वभाविक उम्मेदावर भएको उनले बताए।

‘मेरो बेला पनि भइसकेकाे हाे। अब उपाध्यक्षबाट अघि जाने बाटो भनेकै अध्यक्षमा हो,’ शर्माले भने।

९८ प्रतिशत गैरआवासीय नेपालीको समर्थन आफूलाई रहेको दावी शर्माको छ।

‘म कुनैपनि हालतमा ब्याक हुँदिन। म एउटा व्यक्ति उठेको होइन। मलाई आम गैरआवासीय नेपालीको साथ र सहयोग छ,’ शर्माले भने, ‘विश्वभरका ९८ प्रतिशत गैरआवासीय नेपालीको विश्वासलाई टुट्न दिन्न्।’

विदेशमा रोजगारी गर्ने नेपालीको दुःखमा मलमपट्टी लगाउनको लागि भए पनि आफू एनआरएनए अध्यक्ष बन्नुपर्ने शर्माको भनाइ छ।

शर्माले छिट्टै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने बताए।

आफूलाई एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतका अग्रज अभियान्ताको पनि समर्थन रहेको उनको भनाइ छ।

‘मलाई मेरा एजेण्डामा विश्वास छ। त्यो एजेण्डालाई एनआरएनएका संस्थापकहरूले पाखा राखेर अरु एजेण्डालाई काखा राख्न कहिँ पनि सक्नुहुन्न्,’ उनले भने, ‘सबै पूर्व अध्यक्षहरूले मध्यपूर्व क्षेत्रको एउटा नेतृत्व हुनुपर्छ भनेर भन्नु भएको छ। एनआरएनएलाई पैसावालको क्लब भनेर लागेको दाग मेटाउनुपर्छ भन्ने पक्षमा उहाँहरू हुनुहुन्छ।’

अहिले उपाध्यक्षको जिम्मेवारीमा रहेका शर्मा आउने कार्यकालमा अध्यक्षमा बाजी मार्न विश्व दौडाहमा छन्। शर्मा कतारमा व्यवसाय गर्छन्। उनले श्रमिकका मुद्दालाई मुख्य एजेण्डा बनाएका छन्।

भिडियोमा हेर्नुहोस् शर्मासँगको कुराकानी