‘वेश्यालय’ बनेको एउटा गाउँ, जहाँ लोग्ने र दाजुभाइले खोजिदिन्छन् ‘ग्राहक’

‘वेश्यालय’ बनेको एउटा गाउँ, जहाँ लोग्ने र दाजुभाइले खोजिदिन्छन् ‘ग्राहक’

राजस्थान। सडकको छेउतिर ग्राहक खोज्दै उभिएकी छिन्– राजकुमारी। यो भारतको घेघोली गाउँ हो।

उनी यौनकर्मी महिला हुन्। ग्राहक खोज्दै हिँड्छिन् राजकुमारी, ‘ग्राहक’ नभेटिएसम्म खोजिरहन्छिन्।

परिवार सानो छ। कमाउने कोही छैनन्। लोग्ने घरमै बस्छन्। स–साना छोराछोरी र परिवार पाल्ने जिम्मेवारी राजकुमारीमै निर्भर छ।

भारतीय राज्य राजस्थानको अलवर जिल्ला।

त्यो अलवरभित्र एउटा गाउँ छ। एउटा समाज छ। एउटा समुदाय छ। एउटा बेग्लै दुनियाँ छ। त्यो हो– ‘घेघोली गाउँ’। जहाँ हर घरमा यौनकर्मी महिलाहरू छन्।

यौनकर्मी अंकिता। उनी आफूलाई बालिका बताउँछिन्। तर यौनकर्ममै छिन्।

गाउँ अन्य यौनकर्मी महिलाहरू ग्राहक खोज्दै बाटो–बाटोमा डुल्छन्। तर अंकिता त्यो झमेलाबाट मुक्त छिन्। उनी जवान छिन्। उनलाई सबैले रुचाउँछन्। रोजी–खोजी समय बिताउँछन्। पैसा दिएर जान्छन्।

‘घेघोली गाउँ’ एउटा वेश्यालय हो। भारतीय समाजले दशकौँदेखि यौनकर्म चलाइरहेको ‘गाउँ’। मानिसहरू याैनकर्मीसित केही मिनेट बिताउँछन्। तर महिलाहरू शरीर बेचेर गुजारा चलाउन विवश छन्।

घेघोली गाउँमा छिमेकी गाउँका पुरुष, राजमार्गमा गुड्ने ट्रकका चालक र प्रवासी मजदूरहरू ‘यौनप्यास’ मेट्न आइपुग्छन्।

अंकिता आफ्नो यो पुस्तैनी पेशाप्रति बफादार छिन्। उनी तीन वर्षअघि यौनकर्मी बनिन्। परिवार पाल्न धौ–धौ भएपछि रोजेरै लागिन्, यौनकर्ममा।

अंकिता परिवारको गरिबी टाल्न यौन पेशामा लागिन्। उनी महिनामा ६०–८० हजार कमाउँछिन्।

घरमा कमाउने कोही छैनन्। उनको घरको हालत बिग्रिएको छ। बा–आमा ऋणले पुरिएका छन्।

त्यसपछि उनी आफैँ पैसा कमाउन लागिन्। ‘पैसा जम्मा गरेर घर बनाउनुछ। बिहे गर्नुछ,’ उनले भनिन्।

अंकिताले यौनकर्मबाटै तीन साल लगाएर लगभग दश लाख ऋण तिरिसकिन्। त्यो परिवारले लगाएको ऋण थियो।

घेघोली गाउँका मानिसहरू ऋणमा फसेका छन्। बैंकले लोनसमेत दिँदैन। किनकि, यौनकर्मलाई बैंकले पेशा मान्दैन।

उनीहरू ऋण माग्न जमिनदारकहाँ जान्छन्। अनि चर्को ब्याजदरमा ऋण निकाल्छन्। र, ब्याजदर बढ्दै जाँदा ऋणको दलदलमा फस्दैछन्।

अर्की यौनकर्मी रचना घरको पहिलो सन्तान हुन्। उनका सात भाइबहिनीहरू छन्। सबै स–साना छन्, कमाउने उमेरका कोही छैनन्।

घर–परिवार ऋणको जालोमा डुबेपछि आमा र काकीसँगै यौन पेशामा जोडिइन् रचना। उनी १५ वर्षको उमेरदेखि देहव्यापारमा रमाइरहेकी छिन्। नरमाउन् पनि कसरी, घर धान्ने जिम्मेवारी उनकै बाँधमा छ।

‘परिवारको स्थिति बिग्रँदै गएपछि मैले आफैँ बुझेँ, अब म काममा लाग्नुपर्छ। स–साना भाइहरू थिए। बहिनी थिइन्। हामीहरू भिख माग्दै खान्थेयौँ,’ रचनाले भनिन्।

उनी यौनकर्ममा लागेपछि परिवारका सदस्यहरूले पेटभरि खाना पाएका छन्। उनले अब अर्काको घरमा माग्न जानुपर्दैन।

रचनाको घर थिएन। बारी थिएन। जमिन थिएन।

‘मेरी आमा वेश्या भएपनि घर राम्रोसित चलेको थिएन। फेरि पनि उनी मुम्बई जान्थिन्। होटलमा काम गर्थिन्। हामीहरू स–साना थियौँ। अनि आमालाई नजान भनेँ, म आफैँ यो पेशामा लागेँ,’ उनले भनिन्।

रचना अहिले आफैँ शरीर बेच्न जान्छिन्। आफैँ कमाउँछिन्। अनि आफ्नो घर उनी आफैँ चलाउँछिन्।

रचनाका लागि त्यो समय डरलाग्दो समय थियो। उनी दलालमार्फत् मुम्बई गइन्। स्थानीय दलालको सहयोगमा उनी यौन बजारमै पुगिन्।

रचना भन्छिन्, ‘एकपटक मुम्बई गएकी थिएँ। म धेरै सोच्ने अवस्थामा थिइनँ। मुम्बईका लागि नयाँनयाँ थिएँ। ग्राहकले मलाई धेरै दुःख दियो। पैसा पनि दिएन। मलाई धेरै पिटेको थियो। नराम्रो व्यवहार देखाएको थियो। मेरो कपडा बाथरुममाथि फालिदिएको थियो। त्यसपछि म बाहिर निस्किन पाइनँ।’

भारतीय समाज यौनकर्ममा वैधानिक छ। तर दलाली र मानवतस्करी बन्द छ। १५ देखि ३५ वर्ष उमेर समूहका लगभग ३० लाख यौनकर्मी छन् भारतमा।

चारैतिर हेर्नोस्– यौनकर्मीहरूको अवस्था राम्रो छैन। उनीहरू घेराभित्र सीमित छन्। समाजबाट हेपिएका छन्। रोगसित लडिरहेका छन्। र, दलाल र मानवतस्करी मारमा छन्।

राजकुमारी, अंकिता र रचनाजस्ता लाखौँ महिलाहरू यौनकर्ममै छन्। यो उनीहरूको रहर होइन, बाध्यता हो।

मानव समाजले जे–जस्तो दृष्टिले हेरेपनि उनीहरूले घर–परिवार धानिरहेका छन्। परिवार पालिरहेका छन्। उनीहरू यौन शोषणको शिकार भइरहेका छन्।

घेघोली गाउँसित एउटा कलंक जोडिएको छ। उनीहरू घुमन्ते आदिवासीहरू हुन्। यौनकर्ममा लागेका सबै महिलाहरू ‘नट, बेडिया, बन्छडा र कञ्जर’ जातिका हुन्।

उनीहरू ठाउँ फेर्दै हिँड्छन्। एक ठाउँबाट अर्को ठाउँमा घुमीफिरी बाँचिरहेका छन्। यी आदिवासीहरू राजस्थान, मध्यप्रेदश, हरियाणा र उत्तरप्रदेशमा फैलिएका छन्।

वेश्यावृत्तिमा लाग्नुअघि यी महिलाहरू नाच्दै–गाउँदै हिँड्थे। जादू देखाउँथे। सिकाउँथे। उनीहरूको कामकाज र रहनसहन बेग्लै छ।

‘समाजमा धेरै पक्षपात छ। जागिर पाएका छैनाैँ। खर्च धेरै छ। हामीहरू एक्लै छौँ। कसैको साथ छैन। विभेद भोगिरहेका छौँ। हामीहरूलाई अन्य जातिले घरको छेउमा पनि बस्न दिँदैनन्,’ घेघोलीका एक युवकले भने।

यौनकर्मी महिलाको कोखबाट जन्मिएका कतिपय सन्तानहरूले आफ्नो बुबासमेत चिनेका छैनन्। किनकि उनीहरू धेरै बुबाको सन्तान हुन्। उनीहरू ग्राहकबाट जन्मिएका सन्तान हुन्।

यौनकर्मीबाट जन्मिएका नानीबाबुहरूले ठूलो समस्या भोगिरहेका छन्। हिजोआज बुबाको नामबिना बाँच्न मुस्किल छ। जताततै बुबाको नाम चाहिन्छ। तर उनीहरूसित बुबाको नामसमेत छैन।

त्यसो त बुबाविहीनका सन्तानहरूले जिन्दगी पहिलो पाइला नै दुःखैदुःखबाट भोग्दै आएका छन्।

रोचक कुरा– आदिवासी समुदायकी महिलाहरू पुरुषभन्दा ‘प्रधान’ छन्। उनीहरू नै घर–परिवारको मुखिया हुन्। जसले कमाउँछ, ऊ बलियो हुन्छ। महिला कमाउँछिन्, अनि महिला नै चलाउँछिन् घर–परिवार। महिलाकै चल्छ रजगज।

यौनकर्मी महिलाहरू परिवार पाल्नका लागि पैसा कमाउँछन्। घर बनाउँछन्। ऋण चुक्ता गर्छन्। कतिपय महिलाहरू गाउँ छोडेर सहर गइरहेका छन्।

यौनकर्मी महिलाका लोग्ने–बुबा र दाजुभाइले समेत उनीहरूलाई सघाइरहेका छन्। उनीहरू ग्राहक खोजेर पैसा कमाउन सहयोग गर्छन्। तर ती पुरुषहरू घरेलु काम गर्छन्, बालबच्चाको रेखदेख गर्छन्। श्रीमतीलाई यौनकर्ममा पठाउँछन्।

तर कतिपय महिलाहरू उमेर ढल्किँदा पनि यौनकर्ममै निर्भर छन्।

स्नेहलता उमेरले पचास नाघेकी यौनकर्मी हुन्। उनकी एउटी छोरी थिइन्। उनी यौनकर्मी थिइन्। तर उनको मृत्यु भयो। सायद, यौन रोगकै कारण। ‘मेरो अब कुनै बच्चा छैन। ऊ बिरामी थिइ। ऊ बितिसकी। म एक्लै बाँचिरहेकी छु,’ उनले भनिन्।

यो सामग्री DW Documentary हिन्दीको सहयोगमा तयार पारिएको हो।