एनआरएनए निर्वाचन : कांग्रेस निकटका आकांक्षी काठमाडौंमा, उम्मेदवार पार्टीले टुंगो लगाउने

एनआरएनए निर्वाचन : कांग्रेस निकटका आकांक्षी काठमाडौंमा, उम्मेदवार पार्टीले टुंगो लगाउने

काठमाडौं। गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी) को केन्द्रीय निर्वाचन हुन अब दुई महिना बाँकी छ।

संघको यसपटकको चुनाव प्रत्यक्ष र अनलाइन प्रणालीमार्फत हुँदैछ।

केन्द्रीय चुनावको रापताप अहिले संसारभर नै बढेको छ। नयाँ कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका आकांक्षीहरू आफ्नो पक्षमा माहोल बनाउन दौडधुपमा व्यस्त देखिन्छन्।

केन्द्रीय नेतृत्वका लागि अहिलेसम्म उपाध्यक्षद्वय राजेन्द्रकुमार शर्मा र महेश श्रेष्ठ चुनाव भिड्ने पक्का भइसकेको छ। यस्तै, महासचिव डा. केशव पौडेलले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्।

यता, वहालवाल कार्यकारी अध्यक्ष डा.बद्री केसीले पनि नेतृत्वमा निरन्तरता चाहेका छन्। डा.केसीले पनि भित्रभित्रै तयारी गरिरहेका छन्।

कतारका शर्मा अहिले विश्व दौडाहमा छन्। युरोप, मध्यपूर्व र मलेसियाको भेटघाट सकाएर उनी यतिबेला जापान पुगेका छन्।

काठमाडौं ओर्लिए कांग्रेसनिकटहरू

एनआरएनएलाई गैरराजनीतिक संस्था भनिएपनि निर्वाचनका बेला यहाँ ठूलो राजनीतिक चलखेल हुन्छ। नेपालका राजनीतिक दलको आर्शीवाद लिएर उम्मेदवारहरू चुनावी मैदानमा उत्रिने कुरा ‘ओपन सेक्रेट’जस्तै हो।

एनआरएनएमा प्रजातान्त्रिक खेमाको बाहुल्यता छ। नेपाली कांग्रेसको प्रवास विभाग संगठन जनसम्पर्क समितिमा आवद्ध रहेकाहरूको बहुमत एनआरएनएमा छ।

तर, जनसम्पर्क समितिमा एक रुपता भने छैन। चुनावका बेला जनसम्पर्क समिति तीन वा त्योभन्दा बढी गुटमा विभाजित हुँदै आएको छ। पार्टीले सर्कुलर नै जारी गर्दा समेत कांग्रेसी मत बाँडिन्छ।

नेतृत्वका प्रत्यासी श्रेष्ठ र डा. पौडेल कांग्रेस निकटका हुन्। यसपटक पनि कांग्रेसभित्र दुई वा त्योभन्दा धेरै गुट सिर्जना हुने लगभग निश्यित भइसकेको छ।

कांग्रेस निकटका आकांक्षीहरू पार्टी नेताबाट आर्शिवाद माग्न यतिबेला काठमाडौं ओर्लिएका छन्। नेतृत्वका प्रत्यासी श्रेष्ठ र डा. पौडेल काठमाडौं आइसकेका छन्।

अघिल्लो पटक कांग्रेसले खडा गरेका उम्मेदवार अध्यक्ष कुल आचार्य पनि काठमाडौंमै छन्। यस्तै, अमेरिकाका निर्वतमान अध्यक्ष बुद्धि सागर सुवेदी पनि काठमाडौंमा छन्। उनले महासचिवमा उठ्ने योजना बनाइरहेका छन्।

यस्तै, युवा उपाध्यक्ष राज रेग्मी पनि काठमाडौं ओर्लिएका छन्। रेग्मीले आउँदो कार्यकालमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

अध्यक्षका प्रत्यासी श्रेष्ठ र पौडेलले आधिकारिक उम्मेदवार आफूलाई बनाउन पार्टीका नेताहरूसँग छुट्टा–छुट्टै लविङ गरिरहेका छन्।

प्रवास खबरलाई विशेष स्रोतले दिएको जानकारी अनुसार पार्टीका उच्चस्तरीय नेताहरु र काठमाडौं ओर्लिएका कांग्रेसी आकांक्षीबीच बैठक बसेर आधिकारिक उम्मेदवार टुंगो लगाइँदैछ।

‘प्रजातान्त्रिक खेमाबाट एउटै टिम बनाउने प्रयास रहन्छ। सहमति जुट्छ भन्नेमा आशावादी छौँ,’ कांग्रेस निकट एक नेताले प्रवास खबरसँग भने, ‘नभए पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार को हुने भन्ने एउटा निर्णय त हुन्छ।’

विद्यार्थी जीवनदेखि नै कांग्रेसी राजनीतिमा सक्रिय डा. पौडेलले पार्टीमा योगदान धेरै भएकाले आफूलाई आधिकारिक उम्मेदवार बनाउनुपर्ने अडान लिइरहेका छन्।

यता छोटो समयमै कांग्रेसका उच्च नेतासँग पहुँच बनाएका श्रेष्ठ पार्टीले आफूलाई आधिकारिक उम्मेदवार बनाउनेमा ढुक्क छन्। नेता पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, गगन थापासँग श्रेष्ठले बलियो सम्बन्ध बनाएका छन्।

एनआरएनएको चुनावी तालमेल पनि नेपालको गठबन्धन जस्तै बनाउने पहल भइरहेको छ। अध्यक्षका प्रत्यासी शर्मा प्रचण्ड निकटका हुन्। शर्माले गठबन्धनको सहयोग पाउने आसमा आफूलाई साझा उम्मेदवारका रुपमा उभ्याउन खोजिरहेका छन्।

यता कांग्रेसले पनि गठबन्धनको साझा उम्मेदवार बनाउन पहल गरिरहेको छ। कांग्रेसले अध्यक्ष आफ्नो भागमा ल्याउन चाहन्छ।



No ads found for this position