एनआरएनए सचिवमा अष्ट्रेलियाबाट डा. ज्ञानेन्द्र रेग्मीको उम्मेदवारी

एनआरएनए सचिवमा अष्ट्रेलियाबाट डा. ज्ञानेन्द्र रेग्मीको उम्मेदवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिवमा अष्ट्रेलियाबाट डा. ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी घोषणा गरेका छन्।

रेग्मी एनआरएनए अष्ट्रेलियाका पूर्व महासचिव हुन्। एनआरएनएमा रेग्मीको एक दशकभन्दा लामो अनुभव छ।

‘संघमा बसेर लामो समय काम गरेको अनुभव छ। अब नौला तथा रचनात्मक कामको सुरुवात गर्नुपर्छ। त्यसैले सचिव पदमा उम्मेदवारी दिन लागेको हो,’ आफ्नो उम्मेदवारीबारे जानकारी दिँदै उनले भने।

सिभिल इन्जिनियरिङ्गमा विद्यावारिधी गरेका रेग्मी अस्ट्रेलियन राज्य सरकारको जलस्रोत विभागमा सिनियर इन्जिनियरका रुपमा कार्यरत छन्।

उनी सन् २००४ मा अध्ययनका लागि जापान गएका थिए। जापानपछि न्युजिल्याण्ड हुँदै अस्ट्रेलियालाई कर्मथलो बनाएका रेग्मी एनआरएनए अभियानमा सक्रिय अभियान्ता मानिन्छन्।

‘संस्था ठूलो हुँदै गइरहेको छ। राम्रा काम पनि भइरहेका छन्। तर, विकृति पनि उत्तिकै छ, गुटभन्दा माथि उठेर संस्थालाई हाम्रो र राम्रो संस्था बनाउने मेरो भूमिका हुनेछ,’ डा. रेग्मी भन्छन्, ‘संसारभरका नेपालीको साझा संस्था भएकोले यसलाई सबैको हकहीतको लागि मेरो पहल हुनेछ।’

नीति निर्माण तहमा पुगेर संस्थालाई योगदान गर्ने आफ्नो इच्छा रहेको उनले बताए।

‘एक दशकमा संस्थाको सबैखाले गतिविधिमा सरिक हुँदै गर्दा यसको आरोह र अवरोहमा पनि संस्थालाई सर्वोपरी राखेर कदममा कदम मिलाउन पछि परेको छैन। अब नीति निर्माण तहमा बसेर काम गर्ने मन छ,’ उनले भने,‘संसारभर छरिएर रहेका गैरआवासीय नेपाली साथीहरुबीच खाडीको व्यथा र अमेरिका र युरोपको कथालाई सम्मानित तवरले अगाडी बढाउने मेरो उद्देश्य हो।’

संघको एघारौं विश्व सम्मेलन तथा नयाँ नेतृत्वका लागि निर्वाचन आगामी अक्टोबरमा हुँदैछ।