एनआरएनए सचिवमा दक्षिण कोरियाबाट सुवेदीको दाबी

एनआरएनए सचिवमा दक्षिण कोरियाबाट सुवेदीको दाबी

सौल। गैरआवासीय नेपाली संघ (एनआरएनए) का सहकोषाध्यक्ष यज्ञराज सुवेदीले संघको आगामी कार्यकालमा सचिव पदमा उम्मेदवारी दिने भएका छन्।

कोरिया निवासी सुवेदीले संघको आगामी कार्यकालका लागि आफूले सचिव पदमा उम्मेदवारी दिन लागेको प्रवास खबरलाई बताए।

‘संस्थामा केही गरौं भन्ने उद्धेश्यले सचिव पद रोजेको हुँ,’ उनले भने।

सुवेदी एनआरएनए दक्षिण कोरियाका पूर्व समेत अध्यक्ष हुन्। एनसीसी कोरियाको सफल नेतृत्व गरेका सुवेदी कोरियाका नेपालीमाझ लोकप्रिय छन्।

ताप्लेजुङमा जन्मिएका सुवेदीले काठमाडौंको सरस्वती क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक गरेका छन्।

सन् १९९६ मा उनी कामदारका रूपमा कोरिया प्रवेश गरेका थिए। कामका साथै उनले कोरियामा अध्ययनलाई निरन्तरता दिए। उनले कोरियामा बसेर मानवशास्त्रमा स्नातकोत्तर पूरा गरे।

अध्ययनसँगै उनले कोरियामा रहेका आप्रवासीका लागि सहयोग गर्ने उद्धेश्यले गैर–नाफामूलक संस्थाको रूपमा आप्रवासी सहयोग केन्द्रको स्थापना गरेका थिए। यो संस्थामार्फत उनले नेपाली मात्र नभइ, विदेशी श्रमिकलाई पनि सहयोग गरेका थिए। सुवेदीले सन् २००९ मा कोरियाको नागरिकता प्राप्त गरिसकेका छन्।

कोरियामा विद्यमान विभेदकारी आप्रवासी कानूनको लामो समयदेखि विरोध गर्दै आएका सुवेदीले श्रमिकको हितमा बनेका कानूनलाई कडाईका साथ लागू गर्न दवावमुलक भूमिका खेल्दै आएका छन्।

उनी दक्षिण कोरियाको सत्तारुढ डेमोक्रेटिक पार्टीको केन्द्रीय समितिअन्तर्गत मल्टिकल्चरल विभागको उपाध्यक्ष समेत हुन्।

सुवेदीले एनआरएनएको सचिव पदमा उम्मेदवारी दिनुको कारण बताउँदै प्रवास खबरसँग भने, ‘मैले संस्थागत सुधार, सहभागितामुलक एनआरएनए, विदेशमा सीप आर्जन र स्वदेशमा स्वरोजगारको एजेण्डा मेरा हुन्।’

उनी आफ्नो उम्मेदवारीलाई आर्थिक वा राजनीतिक दाउपेच भन्दा पनि सामूहिक सहकार्यका आधारमा तय भएको बताउँछन्।

देशभित्र कोभिड–१९ को महामारी चुलिँदा उनले दक्षिण कोरियाबाट करिब १ करोडभन्दा बढीको हाराहारीमा स्वास्थ्य सामाग्री पठाउन सहयोगी भूमिका निर्वाह गरेका थिए। उनको पहलमा दक्षिण कोरियाली सरकारले पनि नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो।

उनी दक्षिण कोरियामा बटुलेको अनुभवलाई नेपालमा साट्न चाहन्छन्। आफ्नो उम्मेदवारी यसैकारण भएको उनको तर्क छ।

एनआरएनएको केन्द्रीय विधान संसोधन समितिको सदस्यमा नियुक्त भएर सुवेदीले काम गरिसकेका छन्।



No ads found for this position