श्रमिक ठग्ने २ म्यानपावरको लाइसेन्स खारेज

श्रमिक ठग्ने २ म्यानपावरको लाइसेन्स खारेज

काठमाडौँ । वैदेशिक रोजगारीका नाम ठगी गर्ने दुई म्यानपावर कम्पनीको इजाजत पत्र खारेज गरिएको छ।

वैदेशिक रोजगार विभागले श्रमिकलाई ठगेको पाइएपछि दुई म्यानपावर कम्पनीको लाइसेन्स खारेज गरेको हो।

डि स्क्वायर र डिल्कस एचआर म्यानपावर कम्पनीको लाइसेन्स खारेज गरिएको विभागका महानिर्देशक मदन दाहालले बताए। वैदेशिक रोजगार ऐन २०६४ को दफा ५१ अनुसार लाइसेन्स खारेज गरिएको उनको भनाइ छ।

उनकाअनुसार यी म्यानपावरले वैदेशिक रोजगारीका नाममा श्रमिकबाट करोडौं रकम असुलेका थिए। यी दुई कम्पनीले विदेश पठाएका श्रमिक त्यहाँ सम्झौताअनुसारको सेवा सुविधा नपाएपछि फर्किनु परेको थियो।

पीडितलाई क्षतिपूर्ति नदिएपछि इजाजतपत्र नै खारेज गर्नुपर्ने अवस्था आएको महानिर्देशक दाहालले बताए।

विभिन्न बाहनामा पीडितलाई क्षतिपूर्ति दिन आनाकानी गर्दै आएपछि विभागले लाइसेन्स नै खारेज गरिदिएको उनले जानकारी दिए।

वैदेशिक रोजगार ऐन विपरीतको कार्य गरेको पाइएमा विभागले म्यानपावर व्यवसायीको इजाजतपत्र खारेज गर्ने व्यवस्था छ।



No ads found for this position