एकले अर्कालाई छारो हान्ने काम नगरौं : राजदूत, मलेसिया

क्वालालम्पुर। नेपाली राजदूतावास मलेसियालाई जोडर आएको समाचारप्रति राजदूत डिल्ली पौडेलले आपत्ति जनाएका छन्। राजदूत पौडेलले पुर्वप्रधानमन्त्री माधवकुमार नेपालको मलेसिया भ्रमण र सिन्डिकेटको बिषयमा नेपाली दूतावास मलेसिया र आफुलाई जोडर आएको समाचारप्रति प्रतिक्रिया राख्दै उक्त कुरा बताएका हुन्।
उनले भने ‘हामी बसेर गफ गरौ, विषयबस्तु के हो त्यसमा छलफल गरौं। तर, एकले अर्कालाई छारो हान्ने काम नगरौं। मलेशियामा बसेको युनिटीलाई विभिन्न बहानामा धमिल्याउन खोज्यो भने यो असफल प्रयास मात्रै हुनेछ।’
एनआरएनए मलेसियाको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्वोधन गर्दै उनले भने –‘दूतावास र राजदूतलाई जोडेर जुन कुरा मिडियामा आयो त्यस विषयमा एम्बेसीले औपचारिक रुपमा प्रेस विज्ञप्ति जारी गरेर एउटा धारणा सार्वजनिक गरिसकेको छ। त्यसलाई सबैले हेर्नुहोला। अर्कोे कुरा यसै विषयसँग जोडिएको र मैले भन्न पर्ने कुरा के हो भने एनआरएनएका साथीहरुले अहिले गर्ने गरेको ९५ प्रतिशत कामहरु र दूतावासले गर्ने गरेको ९० प्रतिशत काम श्रमिकको हितमै छ।’
श्रमिकका समस्या तथा उद्धारका सवालमा दूतावास सधैव लागिरहेको बताउँदै राजदूत पौडेलले यस्तै विषयलाई लिएर मलेसिया सरकारसँग लबिङ गरिरहेको बताए।
उनले भने –‘दूतावास एउटा औपचारिक निकाय हो, एनआरएन भनेको राज्यले नतोकेको राज्यको दूत हो, नेपालको जहिले पनि सम्मान गर्ने तपाई दूत र राजदूतको बिचमा फरक हुनुपर्ने कारण के छ ? तपाई हाम्रो अन्तिम डेस्टिनेशन भनेको सर्भिस प्रोभाईडिङ हो।’
एनआरएनएसँगको सहकार्यबिना राजदूतावासका सबै कामहरुमा धेरै कठिनाई हुने बताउँदै उनले आफू पनि यही कम्युनिटीको सबैभन्दा कान्छो सदस्य भएको बताए।
उनले सरकारका तर्फबाट बेष्ट सर्भिस प्रोभाइट गर्न आफू तत्पर रहेको बताउदै भने ‘हामीले छिटो र छरितो काम गर्नुपर्छ। यो मेरो मात्र हो र मेरो मात्र दायित्व हो भनेर बस्यौ भने हामीले मोमेन्टलाई मिस गर्न सक्छौं।’