अबको एनआरएनए श्रमिकमैत्री हुनुपर्छ : राज रेग्मी

अबको एनआरएनए श्रमिकमैत्री हुनुपर्छ : राज रेग्मी

क्वालालम्पुर। गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनएको अवको अभियान श्रमिकमैत्री हुनुपर्नेमा जोड दिएका छन्।

एनआरएनए मलेसियाको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै रेग्मीले संघले अब श्रमिकका मुद्दालाई मुख्य एजेण्डा बनाएर काम गर्नुपर्ने बताए।

वैदेशिक रोजगारीमा कार्यरत श्रमिकका लागि सरकारले सामाजिक सुरक्षा कोषको योजना ल्याएपनि कार्यान्वयनको पाटोमा चुनौती रहेको बताउँदै संघले त्यसमा काम गर्नुपर्ने उनको भनाइ छ ।

‘सामाजिक सुरक्षा कोष लागू भइसकेको छ। तर, पनि नीति नियम अझै पर्याप्त छैनन्,’उनले भने, ’कार्यान्वयनको पाटोमा ध्यान दिनुपर्छ। सबै श्रमिकलाई आवद्ध गराउन एनआरएनएले सचेतना अभियान चाल्नुपर्छ।’

श्रमिकका समस्या न्यूनीकरण गर्न एनआरएनएले संस्थागत रुपमा पहलकदमी लिनु पर्ने रेग्मीले बताए।

संघको आगामी नेतृत्वको विषय रेग्मीले अबको नेतृत्व श्रमिकको आवाजलाई बुझेको र श्रमिकमैत्री ब्यक्ति आउनु पर्ने घुमारो संकेत गरे।

‘अब आउने नेतृत्वले श्रमिकका मुद्दामा काम गर्नुपर्छ, श्रममुखी कार्ययोजना ल्याउनुपर्छ,’ उनले भने।

एनआरएनए अभियानमा दोस्रो पुस्ताको आकर्षण कम रहेको चिन्ता गर्दै रेग्मीले अबको नेतृत्वले युवाहरुलाई जोड्न विशेष योजनासहित काम गर्नुपर्ने बताए ।

मध्यपूर्व तथा एसियाली मुलुकमा बस्ने नेपालीले सीकेको ज्ञान र सीपलाई देशसँग जोड्न आवश्यकता रहेको उनको भनाइ छ।

प्रवासी नेपालीको सामूहिक लगानीबाट नेपालमै रोजगारीको वातावारण सिर्जना गरेमात्र युवाहरुको विदेश पलायन रोकिने उनले बताए।

 

 



No ads found for this position