पोर्चुगल पुग्ने सपना बेलारुसमा अलपत्र

पोर्चुगल पुग्ने सपना बेलारुसमा अलपत्र

काठमाडाैँ । २०७८ सालमा कञ्चनपुरका राम रोकायले बिबिएस दाेस्राे वर्षमा अध्ययन गर्दै थिए। दायाँ–बायाँ केही नसाेची निरन्तर अध्ययन गरिरहेका उनी एक दिन गाउँकै दीपक शाही नाम गरेका व्यक्तिसँग भेट भए।

तिनै दीपकले रामलाई भने, ‘युराेप जाने हाे ?’

रामले उनकाे कुरा पत्याएका थिएनन्। तर, दाेस्राे वचनले भने रामकाे मनमा केही आशा पलायाे।

दीपकले दाेस्राे पटक भनेका थिए, ‘तिमीहरु नडराऊ, म पनि तिमीहरुसँगै जान्छु। मेरा भाइ-बुहारी पनि हुन्छन्।’

त्यसपछि दीपककाे कुरा पत्याएर राम युराेपियन देश पाेर्चुगल जान तयार भए।

देशकाे बिग्रदाे अवस्थाबाट बिरक्तिएका राम सहजै युराेप जान पाइने भएकाेमा खुसी भए। रहरहरु मयूरका पखेटाजस्तै फैलिएर उडिरहे। सबै तयारी सकेर राम साेही वर्षकाे चैत २८ गते पाेर्चुगल उड्ने तय भयाे।

सबै कुरा योजनाअनुरुप नै भयो। रामले विमानस्थल पुगेर थाहा पाए दीपकले आफूसहित १७ जनालाई पाेर्चुगल लैजान लागेकाे। अरु साथीहरु पनि सँगै जाने भएकाेमा राम खुसी भए। दीपकले रामसहित १७ जनालाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मस्को पुगे। त्यहाँबाट दीपक अर्कै देश बोस्नियातिर लागे। बाँकी १७ जनालाई भारतीय एजेन्ड प्रवाशले हाेटलमा लगे।

त्यस होटलमा उनीहरुले एक साता बिताए। तर, पाेर्चुगल जाने दिन आएन। त्यसपछि उनीहरुकाे मनमा चिसाे पस्याे। त्यसपछि ती भारतीय एजेन्डलाई दीपकसँग सम्पर्क गराइदिन भने। तर, दीपक सम्पर्कमा आएनन्। बरु उनीहरु पाकिस्तानीमुलका एजेन्डकाे जिम्मामा पुगे। ‘पछि त पाकिस्तानी एजेन्टले पोर्चुगल जान पानीको बाटो हुँदै लाट्भिया पठायो,’ रामले भने।

लाट्भियामा उनीहरु प्रहरीको फन्दामा परे। प्रहरीले सबैको मोबाइल खाेस्याे। त्यसपछि उनीहरुहरुले आफूहरु ठगिएकाे महसुस गरे। ‘हामी लाट्भियामा अलपत्र पर्‍याैँ। हामीसँग केही थिएन। न खाने कुरा न त पिउनेपानी। १७ दिनसम्म फोहोर पानी खाँदै पाकिस्तानी एजेन्टसँग भएको म्याप (नक्सा)को आधारमा बेलारुसको पहिलेकै ठाउँमा फर्केर १५/२० दिन बेलारुसको होटलमै बस्यौँ,’ उनले भने।

बाटाेमै अलपत्र परेका उनीहरुलाई अब पाेर्चुगल पुग्नुकाे साटाे नेपाल फर्किनुपर्ने थियाे। त्यतिबेलासम्म उनीहरु थप समस्यामा पर्दै गइरहेका थिए। त्याे समस्याकाे पहाडका दिन प्रतिदिन चुलिँदै थियाे। त्यसपछि उनीहरुले एजेन्डलाई ‘अब जे भयाे-भयाे हामीलाई नेपाल पठाइदेऊ’ भनेर आग्रह गरे।

एजेन्टले नेपाल पुग्न जर्मनबाट डिपोर्ट हुनुपर्ने बताउँदै पोल्याण्ड पठाए। तर, उनीहरुकाे पाेल्याण्ड छिर्ने याेजना पनि सफल हुन सकेन। अनेकाैँ दु:ख पाएपछि मातृभूमि फर्किने साेचसहित पाेल्याण्डतर्फ जाने क्रममा उनीहरु बेलारुसबाटै फर्किए।

त्यहाँबाट फर्किने क्रममा उनीहरुमध्ये ६ जना बाटाेमै प्रहरीकाे फन्दामा परे। प्रहरीले १५ दिन जेलमा राखेर आफ्नै खर्चमा नेपाल फर्काइदियाे।

उनीहरुले अहिले काठमाडाैँमा छन्।

उनीहरु काठमाडाैँ त फर्किए तर लामाे समय पानीयुक्त भूमिमा पैदल हिँड्नु परेका कारण बिरामी परेका छन्।

यसरी दीपकले रामसहित १७ जनालाई बिदेश पठाइदिने नाममा ठगेकाे पाइएकाे छ। दीपकले ती १७ जनासँग १५–१५ लाख बढी रकम लिएका थिए।

ठगीमा परेकाहरुले अहिले दीपकविरुद्ध ठगी मुद्दामा प्रहरी जाहेरी दिएका छन्।

अब उनीहरुकाे चाहना छ, पाेर्चुगल पठाइदिन्छु भनेर यातनासहित ठगी गर्ने दीपक शाहीलाई कानुनी कारबाही हाेस् र आफूहरुले तिरेकाे रकम फिर्ता हाेस्।



No ads found for this position