राष्ट्रपतिबाट मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण
काठमाडौं। मिटरब्याजपीडितलाई न्याय दिन भन्दै ल्याइएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन्।
संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब उक्त विधेयकले कानुनको रुप लिएको छ।
उक्त विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएको थियो। राष्ट्रिय सभाले उक्त विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो। प्रतिनिधिसभाले पनि संशोधनसहित पारित गरेर पुनः राष्ट्रिय सभा पठायो।
बिहीबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट प्राप्त संशोधनसहितको उक्त विधेयकलाई पारित गरेको थियो। दुवै सदनले पारित गरेर प्रमाणीकरका लागि राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको थियो। सोही विधेयकलाई शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।