सञ्चार सचिव राउतलाई छाड्न सर्वोच्चको आदेश, नेपालबाहिर जान रोक
काठमाडौं। सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो।
अदालतले राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको दाबी गरेको छ। तर, राउतलाई नेपालबाहिर जान भने प्रतिबन्ध लगाइएको छ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘निवेदकलाई मुद्दा हेर्ने अदालतको आदेशविना अनुसन्धान कार्य सम्पन्न नभएसम्म नेपाल बाहिर जान नपाउने गरी मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा १५ बमोजिम तारेखमा राखी मुद्दाको अनुसन्धान र तहकिकातलाई प्रभावकारी बनाउन जेरजो बुझ्नुपर्छ, बुझी मुद्दाको शीघ्राती शीघ्र अनुसन्धान तहकिकातको कार्य सम्पन्न गर्नु,’ गराउन, भनी परमादेशको आदेश जारी गरिदिएको छ।’
राउत असार २४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। माधवकुमार नेपाल प्रधानमन्त्री रहेको समयमा भौतिक योजना तथा निर्माण मन्त्रालयका शाखा अधिकृत रहेका राउतले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ।