काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लु
काठमाडौं। संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन्।
सहायक विदेशमन्त्री लु एकदिने नेपाल भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुगेका हुन्।
उनले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्नेछन् भने यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्ने दूतावासले जनाएको छ।
यसका साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने जनाइएको छ। साथै उनले नेपालीहरूलाई विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्नेछन्। उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए।
उनलाई काठमाडौंमा स्वागत गर्दै नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आफ्ना पुराना मित्रसँग भेट गर्न पाउँदा खुसी भएको बताएका छन्।
उनले लेखेका छन्, ‘सहायक विदेशमन्त्री डोनाल्ड लु लाई काठमाडौँमा पुन: स्वागत छ। पुराना मित्रलाई एकैछिनका लागि भेट्दा पनि धेरै खुसी लाग्छ। हामी उहाँलाई हाम्रा एक सदस्य संस्थासँग भेट गराउन उत्सुक छौँ, जसले नेपालीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्नको लागि अनुपम सिप प्रदान गरेको छ। अमेरिका-नेपाल सम्बन्धभित्रका अमेरिकी कम्पनी तथा व्यवसायहरूलाई सहयोग गर्ने उद्देश्यले अमेरिकन चेम्बर अफ कमर्सको स्थापना झन्डै २ वर्ष पहिले भएको हो।’
लुले आजै परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्नेछन्। प्रधानमन्त्री अहिले पत्नीशोकमा छन्। लुले त्यहाँ पुगेर स्व. सीता दाहाललाई श्रद्धाञ्जली दिनेछन् र प्रधानमन्त्रीलाई समवेदन प्रकट गर्नेछन्। अन्य विषयमा भने औपचारिक छलफल हुनेछैन।
त्यस्तै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।