समलिङ्गी सुरेन्द्र र मायाकाे विवाह दर्ता अदालतद्वारा अस्वीकार

समलिङ्गी सुरेन्द्र र मायाकाे विवाह दर्ता अदालतद्वारा अस्वीकार

काठमाडौँ । जिल्ला अदालतले समलिङ्गी समूहका सुरेन्द्र पाण्डे र माया गुरुङको विवाह दर्ता अस्वीकार गरेको छ।

बिहीबार काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले समलिङ्गी विवाह दर्ता गर्न अस्वीकार गरेको हो।

सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ताकाे अन्तरिम आदेश दिएपनि काठमाडाैँ जिल्ला अदालतले समलिङ्गी विवाह दर्ता गर्न अस्वीकार गरेको हो।

‘मुलुकी देवानी संहिता, २०७४ को दफा ७७ मा दर्ताद्वारा विवाह गर्न सक्ने कानूनी व्यवस्था भएअनुसार यस अदालतबाट दर्ताद्वारा विवाह हुँदै आएको र उक्त दफा ७७ (१) मा कुनै पुरुष वा महिलाले दर्ताद्वारा विवाह गर्न चाहेमा निवेदन दिन सक्ने कानूनी व्यवस्था रहेको देखिएकोमा प्रस्तुत दर्ताद्वारा विवाह गरी पाउँ भनी निवेदन दिने दुवै व्यक्ति फरक लिङ्गका महिला पुरुष नदेखिएको अवस्थामा निवेदन बमोजिम उल्लेखित दफा ७७ मा उल्लेखित व्यवस्थाविपरीत दर्ताद्वारा विवाह गराउन मिलेन,’ जिल्ला अदालतको आदेशमा भनिएको छ।

अदालतले विवाह दर्ता स्वीकार गरे पनि आशा भने नमरेको माया गुरुङले बताइन्।

‘अझै आशा मरेको छैन, प्रयासमै छौँ। हामी पनि याे देशका नागरिक हाैँ। हामीलाई पनि नेपाली बा-आमाले जन्म दिएका हुन्। आजकाे निर्णयले हामीलाई न्याय मरेकाे अनुभूति भएकाे छ। तर, पनि अन्तिम सास रहेसम्म लडिरहन्छाैँ,’ उनले भनिन्।

नवलपरासीका सुरेन्द्र र लुम्जुङकी मायाबीच ६ वर्ष पहिला विवाह भएकाे थियाे। त्यसपछि विवाह दर्ताकाे मागसहित उनीहरु सर्वाेच्च अदालतसम्म पुगेका थिए। सर्वोच्चले उनीहरूको विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको थियो।

सर्वोच्चको अन्तरिम आदेश बोकेर काठमाडाैँ जिल्ला अदालत पुगेका उनीहरूको विवाह दर्ता हुन सकेन।



No ads found for this position