कोषको पैसा ‘नाइट क्लब’मा लगानी भएको छैन : एनआरएनए कतार

कोषको पैसा ‘नाइट क्लब’मा लगानी भएको छैन : एनआरएनए कतार

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले कोषको रकममा अनियमितता नभएको जनाएको छ।

यसअघि संघका प्रमुख सल्लाहकार उत्तम गुरुङले कोषको रकम व्यापक दुरुपयोग भएको आरोप लगाउँदै विरोध जनाएका थिए।

कोषको रकम अध्यक्ष मोहम्मद मुक्तादालगायतका पदाधिकारीको मिलेमतोमा ‘नाइट क्लब’मा लगानी भएको आरोप उनको थियो।

कमिशनको चक्करमा महासचिव पदम गिरी र कोषाध्यक्ष विनोद बर्सौलाले रकम घोटलामा अध्यक्ष मुक्तादालाई सघाएको र त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको गम्भिर आरोप उनले लगाएका थिए।

उनले लेखेका थिए, ‘गिरी र बर्सौलाले पाँच–पाँच प्रतिशत शेयर पाउने सर्तमा एक क्लबमा लगानी गरेको प्रमाण मसँग सुरक्षित रहेको छ। र, यो प्रमाणसहितको विषयलाई गलत सावित गर्न चुनौती दिन्छु।’ गुरुङले नयाँ सदस्यता प्रमाणिकरणमा पनि गढबढ भएको भन्दै आपत्ति जनाएका थिए।

गुरुङको आरोपसँगै एनआरएनए कतारमा हंगामा मच्चिएको थियो।

यहीविषयमा कोषाध्यक्ष बर्साैलाले एक सूचना जारी गर्दै कोषको रकम दुरुपयोग भन्ने आरोपमा सत्यता नभएको प्रष्टिकरण दिएका हुन्।

बर्सौलाले कार्यसमितिको ११ औं बैठकमा गुरुङले लगाएका आरोपबारेमा बृहत छलफल भएको जनाएका छन्। संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नयाँ कार्यसमिति छनौटको प्रक्रिया विधानबमोजिम अक्षरस पालना गरिएको उनको भनाइ छ।

‘विषय उठान गर्ने स्वयं प्रमुख सल्लाहकारको उपस्थितिमै समापन वैठकमा एनसीसीको कोष कहिं कतै दुरुपयोग नभएको र बाहिर आशंका गरिए जस्तो कोषको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने काम नभएको धारणा प्रस्तुत गरिएको सबैमा जानकारी गराइन्छ,’ बर्साैलाले भनेका छन्।

उनले आरोपबारेमा बैठकमा स्पष्ट पारिएपनि कार्यसमितिकाबाहेकका अरु कसैले बुझ्न चाहेमा कोषको विवरण आउँदो महाधिवेशनमा सार्वजानिक गरिने समेत बताएका छन्।

‘संस्थागत पद्धतिबाट टुंगिएको विषय भएपनि समाजले आवस्यक ठानेको अवस्थामा आउँदो महाधिवेशनमा कोष सम्बन्धि पारदर्शिता पूर्ण रुपमा प्रस्तुत गरिनेछ,’ उनको भनेका छन्, ‘एनसीसीको संस्थागत कामको लागि आवस्यक रकम मात्र आर्थिकनियमावलीमै आधारित रहेर निकासा र खर्च गरिएको र सोको बिल भर्पाई एनसीसी लेखा समितिले गरेको सबैमा जानकारी गराउन चाहन्छु।’



No ads found for this position