एनआरएनए हाँक्ने होडमा रहेका खाडीका नेता युरोप दौडाहामा
काठमाडौं। अक्टोबर आउन ४ महिना बाँकी रहँदै गैरआवासीय नेपाली संघ (एनआरएन) मा चुनावी सरगर्मी बढेको छ।
संघको महाधिवेशन आगामी ११ अक्टोबरमा हुुने कार्यतालिका छ।
संघको नेतृत्व हाँक्न हालसम्म २ जनाले आकांक्षा व्यक्त गरेका छन्। कतारबाट राजेन्द्र कुमार शर्मा (आरके) र जापानबाट महेश कुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिन तयारी सुरु गरिसकेका छन्।
शर्मा र श्रेष्ठ अहिले संघमा उपाध्यक्षको जिम्मेवारीमा छन्।
यस्तै, वहालवाला कार्यकारी अध्यक्ष डा. बद्री केसीले पनि अध्यक्षमा निरन्तरता चाहेका छन्। तर, उनी खुलिसकेका भने छैनन्।
शर्मा खाडीमुलुकबाट एनआरएनएको नेतृत्वमा दावी गर्ने दोस्रो व्यक्ति हुन्। यसअघि कतारकै व्यवसायी टीबी कार्कीले शेष घलेसँग टक्कर कसेका थिए। तर, चुनावी नतिजा उनको पक्षमा आएन्।
त्यसपछि एनआरएनएको नेतृत्वमा उम्मेदवारी दिन मध्यपूर्वबाट कसैले हिम्मत गरेनन्। आगामी नेतृत्वका लागि भने शर्मा पूरा तयारीसहित चुनावी मैदानमा उत्रिएका छन्।
प्राप्त जानकारीअनुसार उनले काठमाडौंमा सचिवालय खडा गरिसकेका छन्। सचिवालयमा उनले केही कर्मचारी राखेर काम समेत सुरु गरेका छन्।
मध्यपूर्वी मुलुकमा चाँजोपाँजो मिलाएर शर्मा यतिबेला युरोप यात्रामा निस्किएका छन्। युरोपका प्रायः सबै देशमा पुगेर गैरआवासीय नेपालीलाई भेट्ने कार्यतालिका शर्माको छ।
माओवादी निकट मानिने शर्मालाई जनप्रगतिशिल मञ्चको पूर्ण समर्थन रहेको बताइन्छ। यस्तै, मध्यपूर्वमा कांग्रेसी समूहले पनि उनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।
राजनीतिमुक्त संस्था मानिएपनि चुनावकाबेला एनआरएनएमा नेपालका राजनीतिक पार्टीको भूमिकाले पनि ठूलो प्रभाव पार्छ।
प्रवास खबरलाई विशेष स्रोतले दिएको जानकारी अनुसार शर्मालाई प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले पनि ‘ग्रीन सिंगल’ दिइसकेका छन्। शर्मालाई सत्ता गठबन्धनको समर्थन हुनेगरी वातावरण तयार गर्न वालुवाटार लागिपरेको छ।
यता, अध्यक्षकै लागि तयारी गरिरहेका श्रेष्ठ कांग्रेस निकट हुन्। कांग्रेस निकटकै भएपनि जनसम्पर्क समितिको पूर्ण समर्थन भने उनले पाउने छैनन्। चुनावका बेला जनसम्पर्क समितिमा सधैं दुई वा दुईभन्दा बढी खेमा खडा हुन्छन्।
यस्तै, कांग्रेस निकटका कतिपय अभियान्ता शर्माको पक्षमा खुलेर लागेका छन्। खाडीमुलुकमा रहेका कांग्रेसीहरुले यसपटक पार्टी नहेरी मध्यपूर्वी नेतालाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।
स्रोतका अनुसार श्रेष्ठ पनि चुनावमा गठबन्धन पक्षधरको सहयोग आफूलाई जुटाउन कांग्रेसी नेता पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, गगन थापामार्फत लविङ गरिरहेका छन्।