‘पासाङ दाईले मसँग चुनाव लड्नु हुन्छ जस्तो लागेको छैन’
दुबई। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूएईको निर्वाचन आउँदो ३० जुलाईमा हुँदैछ।
यूएईमा एनआरएनए नेपाली एसोसिएसनका नाममा दर्ता छ। आधिकारिक रुपमा एनसीसी यूूएईका गतिविधि एसोसिएसनबाटै सञ्चालन हुँदै आएका छन्।
निर्वाचनको मिति नजिकिएसँगै यूएईमा चुनावी चहलपहल बढ्न थालेको छ।
एनसीसी यूएईको आगामी कार्यकालका लागि विभिन्न पदका आकांक्षीहरूले दावी गर्न थालेका छन्।
हालसम्म अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष पासाङ शेर्पा र उपाध्यक्ष विकास शाहीको नाम चर्चामा छ। शेर्पा र शाहीले सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गरिसकेका छन्।
शेर्पाले आगामी कार्यकालका लागि आफू स्वभाविक उम्मेदवारको भएको बताएका छन्। ‘वरिष्ठ उपाध्यक्ष भइसकेको हुनाले अरु विकल्प पनि छैनन्। त्यसैले म अध्यक्षको स्वभाविक उम्मेदवार हुँ,’ शेर्पाको भनाइ छ।
यता शाहीले भने एनसीसी यूएईको आगामी नेतृत्व सहमतिमा चयन हुने बताउँछन्। ‘धेरै जनाको भनाइ नेतृत्वमा विकास जी आउनुपर्छ भन्ने छ। हामी सहमतिको प्रयास गरिरहेका छौं। चुनाव हुँदैन भन्ने मेरो बुझाई हो,’ यूएई भम्रणमा रहेका पत्रकारहरुसँग शाहीले भने।
यूएईका धेरैजसो संघ–संस्था तथा दलका भात्रृ संगठनको समर्थन आफूलाई रहेको शाहीको दावी छ। ‘बहुमत मेरो पक्षमा छ। चुनावी नतिजा मेरो पक्षमा आउँछ। म ढुक्क छु,’ शाही भन्छन्।
शाही आफू कसैसँग चुनाव लड्न नचाहेको बताउँछन्। ‘सकभर सहमतिमै नेतृत्व चयन गरौं भन्ने प्रयास हो। अब लड्नै पर्नै परिस्थिति आयो भने त म सबै किसिमले तयार नै छु।’
तपाईँभन्दा सिनियर वरिष्ठ उपाध्यक्ष पासाङ शेर्पाले पनि त नेतृत्वमा चाहना राख्नु भएको छ। सहमतिमै चयन गर्ने हो भने तपाईँले उहाँलाई समर्थन गर्नुपर्ने देखिन्छ। के तपाईँ त्यसका लागि तयार हुनुहुन्छ त ? पत्रकारहरुको जिज्ञाशामा शाही भन्छन्, ‘पासाङ दाईसँग म प्रत्येक पटक मिलेर काम गरेको छु। दाईका हरेक गतिविधिमा मेरो साथ र समर्थन रहँदै आएको छ। दाईलाई त म अघिल्लो पटक नै तपाईँ आउनुपर्छ भनेको थिएँ। तर, दाई अघि बढ्नु भएन। यसपटक त पालो मेरै हो। बरु दाईले मलाई सहयोग गर्नुपर्छ। र, सहयोग गर्नुहुन्छ भन्नेमा आशावादी छु।’
एनआरएनए अभियानमा शेर्पाको ठूलो योगदान रहेको बताउँदै आइसीसीमा जानुपर्ने सुझाव उनले दिए। ‘पासाङ दाई एनआरएनए अभियानलाई चाहिने व्यक्ति हो। उहाँ यो अभियानबाट बाहिर रहेको म पनि हेर्न चाँहदिन,’ शाहीले भने, ‘दाईप्रति मेरो उच्च सम्मान छ। दाईलाई आइसीसीमा जाने वातावरण मिलाएर एनसीसीको नेतृत्व मैले गर्छु।’
नेतृत्वका लागि आफू परिपक्क भइसकेको पनि उनले सुनाए। ‘दाईहरुबाटै सिकेको छु। संस्था हाँक्न परिपक्क भइसकेको छु जस्तो लाग्छ। नेतृत्वमा आएपछि राम्रो रिजल्ट दिन्छु,’ शाहीको भनाइ छ।
सहमतिमा नेतृत्व चयन गर्न आफूले शेर्पासँग बसेर बृहत छलफल समेत गर्ने बताए। ‘दाईसँग म बसेर छलफल गर्छु। उम्मेदवारी घोषणा गर्दैमा केही बिग्रेको छैन,’ शाहीले भने, ‘मेरो आग्रह दाईले मान्नुहुन्न भन्ने मलाई लागेको छैन। दाई र भाई मिलेरै अघि बढ्छौँ। दाईले मलाई आइसीसीमा बसेर सहयोग गर्नुहुनेछ।’