पूर्णबहादुले मस्कटमा एनआरएनएलाई भने,  शेष घलेलाई तुरुन्त फिर्ता ल्याउनूस्

पूर्णबहादुले मस्कटमा एनआरएनएलाई भने,  शेष घलेलाई तुरुन्त फिर्ता ल्याउनूस्

मस्कट। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले एनआरएनएबाट पूर्व अध्यक्ष शेष घले तथा अष्ट्रेलिया निवासी नेपाली धनाढ्य शेष घलेलाई तत्काल फिर्ता ल्याउन सल्लाह दिएका छन्।

बुधबार ओमनको मस्कटमा सुरु भएको एनआरएनएको ८औं मध्यपूर्व क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै खड्काले एनआरएनएको एकतामा आफ्नो अंह भूमिका रहेको दाबी पनि गरे।

उनले आगामी अधिवेशन र त्यसपछि पनि सधैभरि मिलेर जान एनआरएनएको नेतृत्वलाई आग्रह गरे।

अघिल्लो अधिवेशनका लागि एनआरएनएमा ३ अध्यक्षबीच सहमतिका लागि पहल गर्ने नेतामध्ये खड्का पनि एक हुन्। त्यो बेला विधान सच्याएर एनआरएनएको इतिहासमा पहिलोपटक कार्यावधि बाँडेर ४ जना अध्यक्ष भएका थिए।

‘मैले त्यो बेला पनि भनेको थिएँ। सबै गर्नुस् म सहमत हुन्छु तर एनआरएनएको बत्ती निभाउने कुरामा म सहमत हुन्न भनेर भनेको हुँ’  उनले भने ‘अहिले फेरि मिलेर जाने भन्नुभएको छ। त्यो सहमति गर्नुभएको छ। त्यो बेला सहमतिको पहल गरेको नाताले म धेरै खुसी भएँ। आँशु पनि आयो।’

उनले यो एकता, सहकार्य तथा साझा बाटोमा लामो समयसम्म सँगै यात्रा गर्नुपर्ने पनि उनले बताए।

‘त्यो बेला छुट्टिएर जानुभएका शेष घलेलगायत सबै जना साथीहरूलाई पनि फेरि एकै ठाउँमा ल्याउनुहोस् अनि यो एकतालाई दीगो बनाउनुस्’ उनले भने ‘त्यो मध्य रातमा मैले कुल जी र बद्री जीको हात मिलाइदिएर एकता जोगाइदिएको हुँ।’

त्यस्तै उनले एनआरएनएलाई नागरिकता दिनका लागि विधेयक तयार भइसकेको र अब केही प्रक्रियाहरू बाँकी रहेको पनि बताए। आवासीय नेपालीले पाएका अधिकारहरूको रक्षा र कार्यान्वयनका लागि सरकार सधै प्रतिवद्ध रहेको पनि बताएका छन्।

‘संसदले पारित गरेको विधेयक पनि प्रमाणित हुनसकेन। त्यसले केही संसयहरू उत्पन्न भए। त्यसले केही निरास त गरायो तर पनि प्रमाणिकरण भइसकेको छ’ उनले भने ‘अब चाँडै नै ऐन र कानुनहरू बनाएर त्यसको कार्यान्वनमा पनि चाँडै नै हुन्छ। त्यो फास्ट ट्र्याकमै काम हुन्छ।’

खड्काले गृहमन्त्रालयले अब नियमावलीहरू ड्राफ्ट गर्ने काम सुरु गरिसकेको पनि जानकारी दिए। त्यस्तै उनले सरकारले नीति तथा कार्यक्रममा नै गैर आवासीय नेपालीलाई मतदानको गर्ने व्यवस्थाका लागि कानुनहरू पनि बनिरहेको जानकारी दिए।

सरकारले आर्थिक विकासका लागि निजी क्षेत्रसँग लामो समयदेखि सहकार्यको ढोका खोलेर काम गरिरहेको भन्दै अझ समृद्धि लागि हातमालो गर्न पनि गैरआवासीय नेपालीलाई अपिल गरे।

‘अब संसारभरि छरिएर रहनुभएका तपाईं हामी सबै मिलेर हातेमालो गरौं। तपाईंहरूले सिकेका सीप र ज्ञान देश बनाउनका लागि प्रयोग गरौं’ उनले भने ‘त्यसका लागि कहाँ कहाँ नियम कानुनहरू परिवर्तन गर्नुपर्छ वा कस्ता नियम कानुनहरू बनाउनुपर्छ? सँगै बसौं र त्यो काममा अघि बढौं।’

उनले गैर आवासीय नेपालीले नेपालमा गर्ने लगानीको पूर्ण सहजीकरण र सुरक्षाको सम्पूर्ण ग्यारेन्टी सरकारले लिने प्रतिवद्धता पनि व्यक्त गरे।

‘विश्वको जुनसुकै देशमा रहेर तपाईंहरूले पठाउनुभएको रकमले देशको अर्थतन्त्रमा ठूलो योगदान दिइरहेको छ’, उनले भने, ‘त्यसको सही सदुपयोग सरकारले गरिरहेको छ भन्ने विश्वास पनि दिलाउन चाहन्छु।’

उनले गैरआवासीय नेपालीसँग हरेक क्षेत्रमा हातेमालो गर्न सरकार सधै तयार भएको भन्दै देशमा लगानी भित्र्याउन र दीगो विकासको लक्ष्य प्राप्तिका लागि सहकार्यको आह्वान पनि गरे।

‘एक्लै सक्नुहुन्न भने सामूहिक लगानी गर्नुहोस्। हामी तपाईंहरूसँग सहकार्यका लागि सबै तत्पर र प्रतिवद्ध छौं’, उनले भने, ‘तपाईंहरूले भित्र्याएका वैदेशिक लगानी र सिप अनि ज्ञानबाटै हाम्रै पालमा देशको मुहार फेर्न सकिन्छ।’

 

 

 

 



No ads found for this position