कांग्रेसभित्र ‘ढुस्सिएको’ सनातनी समस्या

कांग्रेसभित्र ‘ढुस्सिएको’ सनातनी समस्या

काठमाडौं। चुनावताका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले हरेक भाषणमा एउटा आह्वान छुटाउँदैनथे- तपाईंहरूले पार्टी होइन, मत बदल्नुस्…।’

गत मंसिरमा चलेको त्यो मन्द चुनावी बतास परिणामसम्म आइपुग्दा हुरीजस्तै बन्यो। दुनियालाई छक्क पार्दै प्रतिनिधिसभामा रवी लामिछानेको पार्टीले सानदार स्थान बनायो।

भोटको त्यो हुरी, अहिले फेरि आँधी बनेको छ। त्यो बेला मतदाताको मत बदलियो। अब मन बदलिन थालेको छ।

‘मिसन २०८४’को नारा लिएर यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी वडा वडामा पुगिरहेको छ। निर्वाचन क्षेत्रहरूमा फेरि चुनावकै जस्तो माहोल बनाइदिएको छ।

महिना दिनमै कम्तीमा दुई लाखभन्दा धेरै मानिसले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्या लिइसकेका छन्- एक हजार रुपैया तिरेर।

यसरी राष्ट्रिय स्वतन्त्र पार्टीमा रोज्नेहरू कम्तीमा ६० प्रतिशत नेपाली कांग्रेस नजिकका छन्। जो कांग्रेसी परिवारका हुन्, जसको विचार उसैसँग मिल्छ। अनि जो कांग्रेसमा जान तम्तयार थिए। तर अब राष्ट्रिय स्वतन्त्र पार्टीले खोलिदिएको ढोकामा उनीहरू तँछाडमछाड गरिरहेका छन्। त्यसपछि एमालेमा ‘मौका’ नपाएका अनि पार्टी राज्न अलमलिइरहेका युवाहरू लागि राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो बतासमा मिसिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीतिर हुर्रिएको ‘मत’ अनि हुत्तिरहेका ‘मन’हरूले सबैभन्दा बढ्ता नेपाली कांग्रेसलाई नै पोलिरहेको छ।

‘मन बदलेकाहरू अनि मत बदलेकाहरू फेरि कांग्रेसमै फर्किन्छन्। त्यसका लागि कांग्रेस बदल्नुपर्छ’ केही दिनअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भनेका थिए ‘हिँज मत बदलियो। आज मन बदलिँदैछ। यो थाम्न सकिएन भने कांग्रेस त्यसको भारीले झन् थिचिदैं जाने हो।’

राजनीतिमा चासो राख्नेहरूलाई नेपाली कांग्रेसले कहिल्यै समेट्न सकेको छैन। बरू कांग्रेसभित्र छिरेकाहरू पनि त्यहीँ नै निमोठिइरहेका छन्।

अनि नयाँ पार्टीमा सबले नयाँ यात्रा गर्न खोज्दैछन्।

कांग्रेसमा किन जाने? कांग्रेसमा किन रहने? जवाफ कसैसँग छैन। न कांग्रेससँग न यसको नेतृत्वसँग।

‘वर्तमानको समस्या हल गर्ने, राम्रो भविष्य दिने। एकै लाइनमा कांग्रेसलाई बुझ्ने भाष्य यही हो। तर यो सब केही छैन’ गगनलाई लाग्छ ‘भोट पाएको तर विश्वास गुमाएको पार्टी भएको छ नेपाली कांग्रेस। त्यही विश्वासलाई फर्काउने चुनौती छ। त्यसका लागि एउटै शुत्र छ नेपाली कांग्रेस बदल्ने हो।’

अनि रवी लामिछाने त्यो बेला ‘मत’ बदले। अब ‘मन’ बदल्नेतिर लागिरहेका छन्।

कांग्रेसभित्र ‘ढुस्सिएको’ सनातनी समस्या यही हो।

कसरी बदल्ने कांग्रेस?

थापाका अनुसार कांग्रेस बदल्ने एउटै शुत्र हो- पहिला आफै बदलिने हो। नेतृत्व बदलिने हो। अनि पार्टी चलाउने पद्धती बदल्ने हो।

थापालाई पनि लागिसकेको छ, मत र मन बदल्ने हुरी चलिरहेका बेला त्यसैले नेपाली कांग्रेसलाई पनि कहिल्यै उठ्न नसक्नेगरी हुत्याइदिन सक्छ। उनलाई थाहा छ, यसपालि जसरी चुनाव जितिएको छ अर्कोपाली त्यो सम्भावनाका ढोकाहरू झन् झन् साँघुरा हुँदै गएका छन्।

साताअघि पार्टीका शुभेच्छुक नेपाल प्रेस युनियनका पत्रकारहरूमाझ गगनले पार्टी सुधार्ने शुत्र, चिन्ता र डरहरूका बारेमा भनेका थिए।

‘अहिलेको चुनाव हामीले मज्जाले जितेका छौं। त्यो चुनाव हामी हार्छौं भन्ने चिन्ताले सताएको छ’ उनले भने ‘सबैतिर यस्तै छ। सबै साथीहरूले त्यसै भन्नुहुन्छ। अहिले चुनाव जितिएको छ। अब अर्को चुनाव हारिन्छ भन्ने डर छ। यस्तो किन भयो? यस्तो किन भयो? त्यसको उत्तर खोज्न तलै पुग्नुपर्छ।’

र, उनले योजना पनि बनाइसकेका छन्, वडा वडासम्मै कांग्रेससँग जोडिने। नागरिकसँग जोडिने। त्यसका लागि ‘टिम गगन’ले एउटा मार्गचित्र तयार पारिसकेको छ।

त्यो बेला गगनले भनेका थिए ‘कांग्रेसभित्रका गुटहरू अब भत्काउनुपर्छ। त्यो परिपाटी अन्त्य हुनुपर्छ। र अब पार्टीभित्र दुईमात्रै गुट हुनुपर्छ। एउटा कांग्रेस बदल्ने गुट। अर्को कांग्रेस नबदल्ने गुट। बदल्ने गुटलाई बलियो बनाउँदै लैजानुपर्छ अनि बदलिने गुटलाई सक्काउँदै।’

र, यी गगन पार्टीभित्र बलियो बन्दै गइरहेको त्यही एक गुटकै बलियो नेता पनि हुन्। जसले पार्टी बदल्ने कुरा भन्दा बढी सरकारमा सहभागी हुने मन्त्रीहरूको ‘भाग’ खोजेर अड्किइरहे। पार्टीलाई अड्काइरहे। सरकारी नियुक्ति, पार्टीका विभाग अनि संगठनहरूमा भागवण्डा छोड्न सकेनन्, बरू त्यसकै निहुँमा देउवाले पार्टीलाई ‘मनमौजी’ बनाएको भनेर आरोप लगाइरहे। अनि कांग्रेस बदल्ने र गुट भत्काउने गफ हाँकिरहेका छन्।

कुनै बेला गगनलाई जुरुक्कै उचालेर महामन्त्री बनाए। अनि फेरि उचाल्दै उचाल्दै संसदीय दलको नेतामा पनि भिडाए। त्यसअघि नै गगनलाई ‘प्रधानमन्त्री’का रूपमा चिनाएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा अहिले मौन छन्। ‘विश्व-गगन’को त्यही चमकलाई ‘कांग्रेस बदल्ने’ चम्किलो आश मान्दै चौधौं महाधिवेशनमा कार्यकर्ताले यी दुईलाई महामन्त्री बनाए।

तर, कांग्रेसको विडम्बना यहिँनेर छ, कांग्रेस बदल्न भनेर उनीजस्तै ‘जोश’ भएका एउटा समूहलाई यसअघि नै गुरुराज घिमिरेले देशभरि हिँडाइसकेका छन्। ठाउँ ठाउँमा कांग्रेसीहरू भेला पारेर त्यो समूहले ‘कांग्रेस बदल्ने’ शुत्रहरूका बारेमा छलफल चलाइरहेको छ।

र, उनीहरूले ‘ग्रासरुट’का नेता कार्यकर्ताहरूलाई ‘विशेष महाधिवेशन’ माग्न भन्दै सम्झाइरहेका छन्।

गगनले पनि यो स्विकारेकै कुरा हो- कांग्रेसभित्र गुट तलैबाट आएको छ। त्यही गुट पछि पार्टीभन्दा महत्वपूर्ण हुन्छ र त्यो गुट विस्तारै गिरोहमा बदलिन्छ। अनि सबैलाई त्यही गुट(गिरोह)लाई जोगाउनुपर्ने हुन्छ। कांग्रेसको एउटा ठूलो समस्या यही हो। यो कांग्रेसीले नै बनाएको पद्धती हो। यसलाई भत्काउनुपर्छ।’

गगनका अनुसार त्यसका लागि सदस्यता प्रणाली बदल्नुपर्छ। अब हरेक इकाइमा उम्मेदवार पार्टीका दाईहरूले छान्ने होइन। चुनाव लड्ने उम्मेदवार अब आफ्नै क्षेत्रका कार्यकर्ताले छान्नेछन्।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले अपनाएको विधि पनि ठ्याक्कै यही हो। निर्वाचन क्षेत्रको नेतृत्व गर्न उम्मेवारहरूको ‘अग्रिम चुनाव’का लागि उसले उम्मेदवारी आह्वान गरिरहेको छ।

हुर्रिरहेका मत र मनहरू सम्हाल्न अब कांग्रेसले के गर्छ?

गगनलाई लाग्छ, त्यसका लागि अब वडा तहमै पुग्नुपर्छ। पार्टी बिगार्ने गुट हो। त्यही गुट पार्टीभित्रको एउटा ठूलो गिरोह बन्छ र पार्टी विस्तारै त्यसको कब्जामा जाकिन्छ। त्यो गुट वडा तहबाटै बन्दै आउँछ र पार्टी नेतृत्वमा गिरोह भनेर झाङ्गिन्छ।

‘त्यसैले कांग्रेस बदल्न हाम्रा मान्छे बदलिनुपर्छ। म आफै बदलिनुपर्छ। नेतृत्व बदलिनुपर्छ। मैले बदल्ने भनेको अहिलेसम्म सहदैँ आएँ। मैले बदल्ने भनेको नसहनुपर्ने कुरा सहँदै आएँ अब त्यो सहदिँन भन्ने हो। अब हुन्न भन्ने हो। यसरी नै बदल्ने हो। म आफू बदलिएँ भनेमात्रै पार्टी बदलिन्छ। यसरी नै सबै बदलिनुपर्छ’ गगन भन्छन् ‘यो भाग्ने बेला होइन। छोड्नेबेला होइन। कसैको प्राइभेट कम्पनी होइन। हाम्रो कांग्रेस हो। हाम्रो पार्टी हो। हामीले बदल्ने हो।’

एकातिर नेतृत्व अर्कोतिर कार्यकर्ता। एकातिर चुनाव अर्कोतिर भोट। कांग्रेसभित्र सबैले थाहा पाएको तर कसैले समाधान गर्न नचाहेको वर्षौंदेखि झाङ्गिएको समस्या यही हो।

नेताहरू बाहिर बाहिर भाषण गर्छन्। एकअर्काको आलोचना गर्छन्। तर पार्टीभित्र छलफल गर्दैनन्। कांग्रेसभित्रको बिडम्बना यहीँनेर छ।

दश महिनाभन्दा बढी भयो, पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छैनन्। आफ्नाभन्दा थोरै सांसदहरू भएको पार्टीलाई सरकारको जिम्मा लगाएर त्यसको ‘जमानी’ बसका छन् देउवा। तर सरकारले गर्ने निर्णय र त्यसमा पार्टीले बनाउने धारणाबारे कहिल्यै कसैसँग छलफल गर्दैनन्। मनमा जे लाग्यो त्यही गर्छन्।

गगनले कांग्रेस बदल्नका लागि पत्रकारहरूसँग ‘ब्रिफिङ’ गरेको भोलिपल्टै देउवाले गगनलाई भने ‘काम गरेर देखाउनुस्। यहाँ कसैलाई गाली गरेर केही हुनेवाला छैन।’

अब आफू पार्टी सभापति हुन्न भनेर देउवाले पटक पटक भन्दै आएका छन्। र अब कांग्रेसलाई अझ ठूलो पार्टी बनाउनका लागि उनले गगनहरूलाई जनताका माझ जान पनि भने।

‘अब हुनेवाला तपाईंहरू हो। म त के छ र यहाँ? गर्नुस्। काम गर्नुस्। कसैलाई गाली गरेर केही हुनेवाला छैन। काम गर्नुस् न।पार्टी ठूलो बनाउनुस्। बलियो बनाउनुस्। गाली गरेर केही हुनेवालै छैन। विरोध गरेर पार्टी बन्नेवाला छैन। पार्टी बनाउन जनतामा जानैपर्छ’ देउवाले भने ‘म अब पार्टी सभापति हुनेवाला हैन। मैले त पार्टीलाई ठूलो बनाएँ। अब सहयोग मात्रै गर्ने हो। कसैको विरोध र कसैलाई गाली गरेर होइन। काम गरेर देखाउनुस्।’