एनआरएनएका केन्द्रीय सचिव गुरुङ सम्मानित

एनआरएनएका केन्द्रीय सचिव गुरुङ सम्मानित

काठमाडौं। गणतन्त्र दिवस २०८० को अवसरमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) सचिव तथा सामाजिक व्यक्तित्व प्रविन गुरुङ सम्मानित भएका छन्।

नेपाली कला संस्कृतिलाई विदेशमा जगेर्ना गरेको तथा नेपाली समाजमा बिशेष सेवा गरे वापत एनआरएनए आइसीसी सचिव गुरुङ राष्ट्रिय विशेष सेवा सम्मान २०८० बाट सम्मानित भएका हुन्। एनआरएनए सचिव गुरुङलाई गैरआवासीय नेपालीको हक हितमा उत्कृष्ट कार्य गरेको र देश बिकासको लागि आफ्नो ठाउँबाट योगदान गरेको भन्दै प्रमुख अतिथि सभामुख देवराज घिमिरेले सम्मान गरेका हुन्।

फोकस नेपालले आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाहरुको भूमिका’ विषयक विचार गोष्ठी तथा शुभकामना बिशेष सांस्कृतिक कार्यक्रममा सम्मान गरिएको हो।

खाडी मुलुक कतारमा नेपालको कला र संस्कृतिको जर्गेनाका लागि निरन्तर लागिरहेको तथा नेपालको बहुचर्चित फेन्चाइज शो नेपाल आइडल, द भ्वाइस अफ नेपालको कतारमा ग्राण्ड फिनाले गरेर नेपाली कलासंस्कृति विश्वमा चिनाउन गुरुङ सफल भएको छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न पर्यटन, सेवामुलक तथा सामाजिक संघ–संस्था मार्फत राष्ट्रविकास, कला र संस्कृति क्षेत्रमा सहयोग पुर्याएको योगदान प्रशंसनीय र अतुलनीय रहने सम्मानमा जनाइएको छ।

प्रतिनिधि सभा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा संस्थाको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्व तथा पुर्ब श्रम, रोजगार,तथा सामाजिक सुरक्षामन्त्री एबं सांसद शेरबहादुर कुँवरलगाएतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे।

कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान सहित सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे।

गुरुङको समाजसेवा

नेपालीहरुका समस्यामा हरदम साथ दिने प्रविन गुरुङ व्यक्तिगत तथा संस्थागतरुपमा समाजसेवामा निरन्तर लागिरहेका छन्। अझ एनआरएनए अभियानमा लागेपछि उनको सामाजिक जीवन अझ उचाईमा पुग्यो।

कोभिड १९ को दोस्रो भेरिएण्टले नेपालमा अक्सिजनको हाहाकार हुँदा मध्यपूर्वबाट ५६० अक्सिजन सिलिण्डर नेपाल पठाउने अभियनमा नेतृत्वदायी भूमिका खेलेका गुरुङको एनआरएनमा मात्र नभएर नेपाल तथा विश्वभर उच्च मुल्यांकन भएको छ। ‘नेपाललाई समस्या पर्दा मल्हम लगाउन हामी मध्यपूर्वका नेपाली अग्रस्थानमा हुन्छौं’ गुरुङ भन्छन्–‘ अक्सिजन सिलिण्डर मात्र होइन करौडौंको स्वास्थ्य सामाग्री मध्यपूर्वका नेपालीहरुले स्वदेशमा पठायौं।’

अनेपेक्षित रुपमा श्रृजना भएको कोभिड १९ को विषम परिस्थितिलाई समेत कुनै प्रवाह नगरी मध्यपूर्वमा रहेका २० लाख नेपाली समुदायमाझ नेतृत्वदायी भूमिकामा रहेर गुरुङले विभिन्न स्थानीय निकायसँग समन्वय गरी खाद्यान्न वितरणदेखि स्वेदश फिर्तिका लागि हवाई टिकट तथा रोजगार परिवर्तन एवं व्यवस्थापनमा समेत सक्रिय भूमिका खेले।

त्यतिमात्र नभई गुरुङको अग्रसरता मध्यपूर्वमा वर्षौदेखि अलपत्र मृतक नेपाली श्रमिकका शवहरु तथा कोमामा रहेका वेवारिसे विरामीहरुलाई स्वदेश फिर्ती एवं व्यवस्थापन गरी घर परिवार तथा आफन्तहरुको पिडामा मल्हम पट्टि लगाउने काममा पनि उत्तिकै देखिन्छ।

भुकम्पका कारण क्षतविक्षत भएको बुदसिंङ्ग लगायत गोरखा जिल्लाका विभिन्न क्षेत्रमा आफु स्वयं उपस्थित भएर अस्थाई बासस्थान, खाद्यान्न, स्वास्थ्य सामाग्री वितरणमा खटेका गुरुङले गैरआवासीय नेपाली संघले शुरुवात गरेको लाप्राक नमुना बस्तीको ५ सय ७३ भवनसहितको स्थाई बासस्थान निर्माणका क्रममा पटक पटक निर्माणस्थलमै पुगेर सहयोग पुर्याएका थिए।

गुरुङले भुकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगायत विभिन्न दैविक प्रकोपको बेला स्वयम उपस्थित भएर गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै राहत सामाग्री वितरणमा जुटेका थिए। सो क्रममा मध्यपूर्व तथा मलेसियाको नेतृत्वमा बारा–पर्सा लगायतका जिल्लामा हावाहुरीबाट घरवारविहिन भएका ३ सय घरधुरीलाई तथा सिन्धुली लगायत तराईका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण पीडित भएका १ सय ५० घरधुरीलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामाग्री तथा अस्थाई बासस्थानको व्यवस्थाका लागि उनले अग्रणी भूमिका निर्वाह गरेका थिए।

त्यसैगरी एनआरएनएको ईतिहासमा पहिलो पटक नेपालको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागिता हुने अवसरका लागि एवं विभिन्न खेल, कला–साहित्य तथा नेपाली संस्कार र संस्कृतिको संरक्षण, सम्बर्धन तथा प्रर्वद्धनमा गुरुङ प्रत्यक्ष सहभागी भएका थिए।

नेपाली कला र संस्कृतीलाई संरक्षण, सम्बर्धन तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुमा हस्तान्तरण हुनुपर्छ भन्ने मान्यता राख्ने गुरुङले भ्वाईस अफ नेपाल, नेपाल आईडल, बुकीबुकी जस्ता नेपालकै ईतिहाँसमा पहिलो पटक शुरुवात भएका ‘रियालिटी शो’ हरुको ग्राण्ड फिनाले मध्यपूर्वमा सफलतापूर्वक आयोजनासमेत गरेका थिए भने अहिले मध्यपूर्व यूवा विभागमार्फत संचालन भइरहेको विश्व चर्चित कार्यक्रम ‘ग्लोबल एनआरएन सिंगिङ्ग आईडल, सेकेण्ड जेनेरेशन’को मुख्य प्रायोजककोरुपमा भूमिका खेलेका थिए।