‘नागरिकता किन नदिएको?’

‘नागरिकता किन नदिएको?’

काठमाडौं। नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा बिहीबार प्रदर्शन भएको छ।

नागरिकताविहीन नेपाली नागरिकहरूले नागरिकता प्रदान गर्न माग गर्दै माइतीघर मण्डेलामा प्रदर्शन गरेका हुन्।

नेपाली नागरिकलाई नागरिकता उपलब्ध गराइने भनेर संविधानमा व्यवस्था भए पनि आफूहरूलाई संवैधानिक अधिकारबाट बञ्चित गरिएको उनीहरूको भनाइ छ।

विदेशी नागरिकहरूले सजिलै नागरिकता पाइरहेको तर आफूहरूको नागरिकता भए पनि सन्तानले पाउन नसकेको गुनासो उनीहरूले गरेका छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सिफारिसमा नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि सर्वोच्च अदालतले तत्काल कानुन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

यो विषयमा छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई २६ जेठमा झिकाएको छ।

त्यसअघि अल्लिो संसदले दुईपटक पारित गरेको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगर्दा नागरिकता ऐन, २०६३ संशोधन भएर कार्यान्वयनमा आउन सकेको थिएन।

भण्डारीले होल्ड गरेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि संविधानविपरित भएको भन्दै कार्यान्वयन नगर्न माग राख्दै सर्वोच्चमा रिट दायर भएको छ।

नागरिकता दिन माग राख्दै प्रदर्शनमा उत्रिएकाहरूले प्रमाणीकरणविरूद्ध रिट हाल्ने कानुन व्यवसायी र सर्वोच्च अदालतप्रति पनि आक्रोश पोखेका छन्।

तत्कालीन राष्ट्रपति भण्डारीले संविधानबमोजिम विधेयक प्रमाणीकरण गर्नुपर्नेमा नगरेपछि अहिले रिट हाल्ने कानुन व्यवसायीहरू कहाँ थिए भनेर प्रश्न गरेका छन्।

जन्मसिद्ध नागरिकका सन्तान र बाबुको पहिचान नखुलेकाहरूको सन्तानलाई वंशजको आधारमा नागरिकता दिइने संविधानमा व्यवस्था भए पनि कानुन नबन्दा उनीहरूले नागरिकता पाउन सकेका छैनन्।

नागरिकताको विषय विगत १७ वर्षदेखि राजनीतिक मुद्दा बनिरहेको छ। जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन माग राख्दै पटक–पटक आन्दोलनसमेत भएको छ।

तत्कालीन राष्ट्रपति भण्डारीले ‘होल्ड’ गरिदिएको विधेयक वर्तमान राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि जन्मसिद्ध नागरिकका सन्तानका लागि नागरिकता पाउने बाटो खुल्ने अपेक्षा गरिएको थियो।

तर, सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशका कारण संशोधित नागरिकता कानुन कार्यान्वयनमा आउन सकेको छैन।