‘परिस्थिति बिग्रिएला जस्तो थियो, मोदीजीसँग ‘वन टु वन’ वार्तापछि सम्मालियो’

‘परिस्थिति बिग्रिएला जस्तो थियो, मोदीजीसँग ‘वन टु वन’ वार्तापछि सम्मालियो’

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा कुरा बिग्रेला बिग्रेलाजस्ता भएर पनि सम्हालिएको बताएका छन्।

शुक्रबार बिहान नयाँदिल्लीमा नेपालका पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग तीनपटक ‘वन टु वन’ भेटवार्तापछि वातावरण सहज भएको बताए।

‘हामीले जुन अपेक्षा र तयारीका साथ आएका थियौं। बीचमा अलिकति कम्पलेक्सिटी आउने हो कि जटिलता आउने हो कि भन्नेजस्तो पनि थियो आउँदाका दिन,’ उनले भने,‘तर, स्थिति सम्हालियो।’

बधुबार बेलाको अवस्था जटिल भए पनि बिहीबार बिहानबाट वातावरण सहज बन्दै गएको प्रधानमन्त्री प्रचण्डले बताए।

‘अस्ति बेलुकाको स्थिति अर्को थियो, हिजो बिहानबाट बिस्तारै वातावरण सकारात्मक बन्दै गयो र हैदराबाद हाउसको रिजल्ट आयो। एमओयु भयो। हस्ताक्षर भयो। त्यो सबैले गर्दा यो भिजिट महत्वपूर्ण भयो,’ उनले भने।

बुधबार दिल्ली ओर्लिएर नेपाली दूतावास पुग्दा आफ्नो अनुहारमा कुनै चमक नभएको बताएका प्रधानमन्त्री प्रचण्डले आफूलाई कुनै दबाब भएजस्तो महसुस भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै पहलमा वातावरण सहज हुन पुगेको उल्लेख गरे।

‘मोदीजीसँग तीनपटक वन टु वन भेटवार्ता भयो। त्यसले पनि परिस्थितिलाई सहज बनायो। धेरै मिहिनेत गरियो। मलाई त एकचोटि बिग्रिन्छ भन्ने चिन्ता भएको थियो। एम्बेसीमा मेरो अनुहारमा कुनै चमक थिएन, कुनै दबाब भएजस्तो थियो। यसमा मोदीजीले नै इनिसिएटिभ लिएजस्तो देख्छु,’ प्रचण्डले भने।

प्रधानमन्त्रीका रूपमा चारपटक भारत भ्रमण गरे पनि यो भ्रमण ऐतिहासिक भएको उनले बताए। पहिलेका भ्रमणलाई भन्दा यसपटक भारतीय सञ्चारमाध्यमले पनि राम्रो स्थान दिएको उनले बताए।

सीमा समस्या हल गर्ने कुरा मोदीबाटै आउनु महत्वपूर्ण

प्रधानमन्त्री प्रचण्डले सीमासहित सबै मुद्दाको समाधान गर्ने कुरा भारत स्वयंले गर्नु महत्वपूर्ण भएको बताए।

समकक्षी मोदीसँग भएको ‘वन टु वन’ वार्ताका क्रममा उनले नै सीमाका कुरा सँधैका लागि हल गर्नुपर्ने बताएको प्रचण्डले जानकारी दिए।

‘सीमानाको कुरा अर्को चर्को कुरा थियो। मोदीजीले मसँगको भेटमा सीमाको कुरा अब सँधैका लागि हल गर्नुपर्छ भन्नुभयो। अब गम्भीर रूपमा लागौं भन्नुभयो। उहाँले प्रेसमा पनि बोल्नुभयो–नेपालसँग सीमाका समस्या हल गरिन्छ भने। मलाई लागि रहेको थियो छलफलमा उठाउनुपर्छ भनेर। तर, उहाँले नै यो कुराको सुरूवात गर्नुभयो,’ प्रचण्डले भने।

समकक्षी मोदीले सीमाको कुरा हल गर्ने कुरा ऐतिहासिक र महत्वपूर्ण भएको उनले बताए।

इपिजीको कुरा झिकेर माहोल बिगार्न चाहिनँ

प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) को प्रतिवेदनको विषय उठाएर माहोल बिगार्नतिर आफू नलागेको बताए।

यो विषय उठाएको भए माहोल बन्नेभन्दा थप बिग्रिनसक्ने स्थिति आफूले देखेकोले त्यसलाई उठाएर माहोल बिगार्नतर्फ नलागेको उनले बताए।

‘इपिजीको विषय उठ्दै उठेन, उठाएर माहोल बिगार्नतिर पनि लागिएन। यो विषय उठाएको माहोल बन्दैन थियो। फेरि यसैलाई उठाएर हुने कुरा पनि किन बिगार्ने भन्ने भयो,’ प्रचण्डले भने,‘यही विषयमा विवाद गरेर सबै काम अड्काएर राख्नुभन्दा फुकाउनेतिर लाग्नु उपयुक्त ठानें। यो इपिजी एउटा विन्दुमा गएर सम्बोधन हुन्छ।’

राम्रा काम अघि बढाउँदै गएपछि इपिजीको विषय पनि सम्बोधन हुनेमा आफू विश्वस्त रहेको प्रचण्डको भनाइ थियो।

पावर ट्रेडमा ‘ब्रेक थ्रु’

प्रधानमन्त्री प्रचण्डले विद्युत व्यापारमा भारतसँग महत्वपूर्ण समझदारी भएको बताए।

‘आर्थिक समृद्धिका लागि हामीसँग भएको बिजुली व्यापारको पोटेन्सियललाई कसरी लङ टर्ममाम लैजाने भन्ने थियो। हिजो भएको पावर ट्रेड सम्झौता वास्तवमै ब्रेक थू्र नै थियो,’ उनले भने।

प्रचण्डले आफ्नो चाहना देशभित्रै बिजुली खपत बढाउने भएको तर बेच्ने कुरा पनि सकारात्मक भएको जिकिर गरे।

बिजुली व्यापारमा भएको समझदारीले ठूलो लगानी भित्रिने सम्भावना बढेको उनको भनाइ छ।

प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीको इन्ट्रेस्ट ‘क्लिन इनर्जी’ मा रहेको बताए।

नागरिकता विधेयक प्रमाणीकरण संयोगमात्रै

प्रधानमन्त्री प्रचण्डले आफू भारत भ्रमण आएकै दिन राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोगमात्र भएको बताए।

उनले नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई आफ्नो भारत भ्रमणसँग जोड्न नहुने जिकिर गरे।

आफूले यसअघि नै नागरिकतासम्बन्धी राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ भनेर भनेको उनले उल्लेख गरे।

‘नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले नै प्रमाणीकरण गर्नुपर्छ भनेर मैले यसअघि नै भनेको थिएँ। तर, संयोगले भारत भ्रमणमा जानेबेलामै राष्ट्रपतिले प्रमाणीकर गर्नुभयो। मेरो भारत भ्रमणसँग यो विषय नजोडियोस् भन्ने मेरो चाहना थियो। तर, संयोग हो,’ प्रचण्डले भने।