नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा चल्ने

नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा चल्ने

काठमाडौं। नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआइबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सहमतिपत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमान प्रधान र एनपिसिआईका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले हस्तार गरेका छन्।

एनपिसिआइ भारतको केन्द्रीय बैंकले स्थापना गरेको संस्था हो।

यो सहमतिपछि भारतमा अध्ययन तथा उपचारका लागि आउनेलाई सहज हुनेछ। सम्झौताले सहज कारोबार तथा भुक्तानीका लागि मार्गप्रशस्त गरिदिएको छ।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत प्रधानले महत्वपूर्ण सहमति भएको बताएका छन्।

उनले यसप्रकारको सम्झौताले विद्युतीय भुक्तानीका लागि सहज हुने बताए।

नेपाल र भारतका नागरिकले यसबाट ठूलो लाभ प्राप्त गर्न सक्ने उनको भनाइ छ।

यसअघि कार्डबाट हुँदै आएको भुक्तानी अब भने क्युआर कोड स्क्यानमार्फत हुनेछ।

भारतमा विभिन्न प्रयोजनका लागि जाने नेपालीले भोग्दै आएको भुक्तानीको समस्या यो सम्झौतापछि समधान हुने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैंकको लगानीमा स्थापित नेपाल क्लियरिङ हाउस र भारतीय समकक्षीबीचको सहमतिले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई थप भरपर्दो र विश्वासिलो बनाएको छ।