प्रचण्ड र मोदीबीच भेटवार्ता

प्रचण्ड र मोदीबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रचण्ड र मोदीबीच भेटवार्ता भएको हो।

सुरूमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ।

प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।

भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोको विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची रहेको छ।

ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हावाइमार्ग, पारवहन सन्धिलगायतका विषयमा छलफल भएर आवश्यक सहमति गर्ने तयारी छ।

यस्तै केही आयोजनाको उदघाटन र शिलान्यासको कार्यक्रमसमेत रहेको छ।

प्रतिनिधिमण्डस्तरीय भेटवार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यतालिका छ।

पत्रकार सम्मेलनपछि भारतीय प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमै आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहित प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी हुनेछन्।

प्रधानमन्त्री प्रचण्ड यसअघि बिहीबार बिहान नयाँदिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका थिए।

भ्रमणको पहिलो दिन बुधबार उनलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले विमानस्थलमा स्वागत गरेकी थिइन्।