काठमाडौंमा रोजगार मेला

काठमाडौंमा रोजगार मेला

काठमाडौं। निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले राजधानीमा आयोजना गरेको रोजगार मेला सम्पन्न भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सहयोगमा मङ्गलबार र बुधबार आयोजना गरिएको मेलामा नेपालमा रहेका ५४ वटा प्रतिष्ठित कम्पनीको सहभागिता थियो।

ती कम्पनीले करिब छ सय रोजगारीको अवसर खुला गरेका थिए । मेलामा कामको खोजीमा रहेका युवाहरूको निकै ठूलो सहभागिता रहेको थियो।

मेलामार्फत करिब १० प्रतिशतले रोजगारी प्राप्त गरेको प्रारम्भिक अनुमान छ। धेरैजसो कम्पनीले रोजगार मेलामा भाग लिन आएका युवालाई मेलापश्चात थप छलफलका लागि कम्पनीको सम्पर्कमा आउनसमेत अनुरोध गरेका छन्।

मेलामा दुई हजारभन्दा बढी युवाले अवलोकनका लागि ‘रजिष्ट्रेशन’ गरेका थिए। कामको खोजीका लागि चारतिर भौँतारिनुुपर्ने र त्यसका लागि समय, पैसासमेत खर्च गर्नुपर्ने बाध्यतालाई एकै ठाउँमा कम्पनी तथा कामको खोजीमा रहेकालाई भेला गराएर कार्यक्रम आयोजना गर्दा ठूलो राहत मिलेको सहभागी युवाले बताएका छन्।

कामको खोजीमा रहेका युवालाई मेलामा सहभागी कम्पनीमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गरिएको महासङ्घले जनाएको छ।

रोजगार मेलामा सूचना प्रविधि, व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सेवा, पर्यटनलगायतका क्षेत्रसँग सम्बद्ध कम्पनीको सहभागिता थियो।