नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य : एनआरएनए

नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य : एनआरएनए फाइल फोटो

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणीकरण गरेको नागरिकता विधेयकको गैरआवसीय नेपाली संघ (एनआरएनए)ले स्वागत गरेको छ।

‘राष्ट्रपतिज्यूले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएकोमा हामी हर्षविभोर छौँ,’ विज्ञप्ति जारी गर्दै संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले भनेका छन्।

नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौं गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको केसीले बताएका छन्।

‘सम्माननीय राष्ट्रपतिज्यूको यस कदमले ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि हामी विश्वस्त छौं’, विज्ञप्तिमा उल्लेख छ।

नागरिकता विधेयक पास गर्न भूमिका निर्वाह गरेकोमा कार्यकारी अध्यक्ष केसीले प्रधानमन्त्री, प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका अध्यक्ष, मन्त्री, सांसद, नेपाल सरकारका मुख्य सचिव, सचिव, सम्पूर्ण राजनीतिक दललगायतप्रति कृतज्ञता प्रकट गरेका छन्।