साकेला नाच्दै जर्मनीमा मनाइयो उभौली

साकेला नाच्दै जर्मनीमा मनाइयो उभौली

जर्मनी। प्रकृति पूजक किरात राई समुदायले जर्मनीमा साकेला उँभौली पर्व मनाएका छन्।

आइतबार किराँतराई समुदायले फ्रयांकफर्टमा उभौली पर्व मनाएका हुन्।

साकेला उभौलीको अवसरमा किराँत समुदायले ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइ नलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामना गर्दै भूमि, पितृ र अन्नको पूजाआजा गरेर साकेला उभौली मनाउने गर्छन्।

विदेशमा रहेपनि आफ्नो संस्कार र रीतिलाई निरन्तरता दिने उद्देश्यले आयोजना भएको कार्यक्रममा बेल्जियम, नेदरल्याण्ड, चेक रिपल्बिकलगायत युरोपका विभिन्न छिमेकी देशहरुबाट झण्डै २ सय ५० सहभागी थिए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष जीवा लामिछाने, निर्वमान अध्यक्ष कुमार पन्त सहभागी थिए।

एनआरएनए जर्मनीका कार्यसमिति सदस्य, विभिन्न राजनीतिक दलका प्रवास विभागका प्रतिनिधिहरु, जर्मनीका विभिन्न सहरबाट आएका नेपाली समुदाय साकेला नाचमा झुमेका थिए।

नेपाल बहुभाषी, बहुसंस्कृति, बहुजातीय समुदाय भएको भन्दै सदियौदेखि मिलेर बसेका नेपालीले विदेशमा पनि भाइचारालाई निरन्तरता दिएकोमा आयोजकलाई उपस्थितहरुले बधाइ दिएका थिए।

एलसिसी हेसनका संयोजक ज्योती राइले विशेष गरी नेपाली नेपालीहरुले यस प्रकारका कार्यक्रमबाट एकले अर्केलााई चीनजान गर्ने अवसर मिल्ने हुनाले पनि आयोजना गर्न पाउँदा खुशी लागेको बताए।

कार्यक्रममा सबै जातजातीहरु सहभागी सहयोग रहेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा थप व्यवस्थित ढंगले आयोजना गरिने आयोजक निनाम्मा राईले बताइन्।