एनआरएनए ‘संस्थापन’लाई शेष घलेको टक्कर

एनआरएनए ‘संस्थापन’लाई शेष घलेको टक्कर सम्मेलनका लागि टोरोन्टो पुगेका घलेलाई स्वागत गरिदैं

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) मा असन्तुष्टी जनाउँदै छुट्टै ‘एनआरएनए’ बनाएका शेष घलेले क्यानडामा अमेरिकी क्षेत्रको सम्मेलन गरेका छन्।

संघको दुई कार्यकाल नेतृत्व गरेका पूर्व अध्यक्ष घलेले गठन गरेको छुट्टै समूहले टोरोन्टोमा दुई दिने सम्मेलन गरेको हो।

१० औं महाधिवेशनका बेला विवाद बढेपछि घलेले कोरियाका व्यवसायी विनोद कुँवरको नेतृत्वमा छुट्टै ‘एनआरएनए’को घोषणा गरेका थिए।

घले समूहका अध्यक्ष कुँवर, उपाध्यक्ष थर्क सेन, महासचिव जानकी गुरुङलगायतका पदाधिकारी सम्मेलनका लागि क्यानाडा पुगेका छन्।

सम्मेलनको उद्घाटन घले आफैले गरे।

यस्तै, संघका निवर्तमान उपाध्यक्ष सोनाम लामा पनि सम्मेलनमा विशेष अतिथि बनेर टोरोन्टो पुगेका छन्।

शनिबार साँझबाट सुरु भएको सम्मेलनमा संस्थाको विस्तार, राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन, गैरआवासीय नेपालीलाई नागरिकता, लगानी र सम्पति संरक्षणलगायतका एजेण्डा छन्।

संस्थापनलाई टक्कर

संघको मूल नेतृत्व भने अमेरिका क्षेत्रको सम्मेलन गर्न लगभग असफल जस्तै बनेको छ। सुरुमा १४ र १५ मेमा तय भएको थियो। तर, क्षेत्रीय संयोजक आरसी पोख्रेल र प्रकाश सापकोटाबीच तालमेल नमिल्दा सम्मेलन रोकियो।

दोस्रोपटक ४ र ५ जुनमा सम्मेलनको मिति तय गरियो। दोस्रो मितिमा पनि सम्मेलन नहुने भएको छ।

जानकारहरूका अनुसार संयोजकद्वय पोख्रेल र सापकोटाबीच तीव्र मतभेद छ। पोख्रेल टोरोन्टोमा सम्मेलन गर्नुपर्ने अडानमा छन् भने सापकोटाले भने विभिन्न बखेडा झिेकर रोक्ने प्रयास गरिरहेका छन्।

संस्थापन पक्षका पदाधिकारी एक–अर्काबीच आरोप–प्रत्यारोप गरिरहँदा त्यसको फाइदा भने घले समूहले उठाएको छ।

घले समूहले एनआरएनएकै नाम, लोगो र लेटरहेड प्रयोग गरेर सम्मेलन गरेको छ।

‘हाम्रा संयोजकले बखेडा मात्र गरे। उनीहरूले जे–जस्तो भएपनि सम्मेलन गरेर देखाए,’ संघका एक उपाध्यक्षले प्रवास खबरसँग भने।

केहीदिन अघिको आइएस बैठकमा संघका अध्यक्ष कुल आचार्यले घले समूहले सम्मेलन गर्न लागेको कुरा उठाउँदै आफूहरूले पनि सम्मेलन गर्नुपर्ने अडान राखेको बैठकमा सहभागी एक पदाधिकारीले बताए।

‘अर्काे पक्षका साथीहरूले सम्मलेनको तयारी गरिरहेका छन्। हाम्रो भने तय भएको सम्मेलन दुई–दुई पटक स्थगित गरिएको छ। सम्मेलन जसरी भएपनि गर्नुपर्छ। साथीहरूलाई सम्मेलनको नयाँ मिति तोकेर काम अघि बढाउन आग्रह गर्दछु,’ आइएस बैठकमा आचार्यको भनाइ थियो, ‘अमेरिकामा एक अध्यक्ष र दुई–दुई जना महासचिव हुनुहुन्छ। दुई आरसीसँग समन्वय गरेर सम्मेलन गर्नुपर्‍यो। इज्जत र प्रतिष्ठाको पनि कुरा हुन्छ। दायाँ–बाँया नगरी सम्मेलन गर्नुको विकल्प छैन।’

आचार्यले सम्मेलनकाे प्रस्ताव पास गर्नुपर्ने अडान राखेपछि कार्यकारी अध्यक्ष डा. बद्री केसीले पनि दुबै संयोजकलाई मिलेर अघि बढ्न आग्रह गरेका थिए। तर, आइएस बैठकले सम्मेलनबारे ठोस निणर्य भने गर्न सकेन।

बैठकमा महासचिव गौरीराज जोशीले एनसीसीको अधिवेशन सकिएपछि पनि क्षेत्रीय सम्मेलन गर्न सकिने बताएका थिए। जोशीले एनसीसीको अधिवेशन सकाएर अगष्टमा सम्मेलन गर्न सकिने तर्क प्रस्तुत गरेका थिए।

केही पदाधिकारीले भने घले समूहले पहिले नै क्यानडामा सम्मेलन आयोजना गर्ने भएकाले आफूहरुले अमेरिकामा सम्मेलन गर्नुपर्ने प्रस्ताव राखेका थिए।

आइएस बैठक सम्मेलन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेपनि कहिले र कहाँ गर्ने भन्ने विषयमा भने ठोष निर्णय भएन।
 
सहज छैन क्यानाडामा

घले समूहले एनआरएनएकै नाममा सम्मेलन गरिसकेको छ। यसले अब संस्थापन पक्षलाई असर पुग्ने देखिन्छ।

एउटै संस्थाको नाममा दुई–दुई पटक सम्मेलन आयोजना गर्दा नेपाली समुदायमा मात्र नभइ क्यानाडामा पनि नराम्रो सन्देश जाने संघका एक उच्च पदाधिकारी बताउँछन्।

‘एउटै संस्थाको नाममा दुई वटा सम्मेलन गर्नु पक्कै पनि राम्रो होइन। क्यानाडाको सम्बन्धित सरकारी निकायले पनि यसविषयमा चासो राख्न सक्छन्,’ ती पदाधिकारीले भने।

सम्मेलनमा सहभागी हुन अन्य देशहरूबाट पनि प्रतिनिधि जानुपर्ने हुन्छ। यस्तो अवस्थामा प्रतिनिधि तथा अथितिका लागि भिसा लिन समस्या पर्नसक्ने ती पदाधिकारीको बुझाइ छ।

‘घले समूहले सम्मेलन गरिसक्यो। अब फेरि त्यहीँ सम्मेलनमा जाने भन्दै भिसा माग्दा नमिल्न सक्छ। दूतावासहरूले पनि यो विषयालाई गम्भीर ढंगले लिनसक्ने अवस्था छ,’ उनले भने।

संयोजकहरु पोख्रेल र सापकोटा एक–अर्काबीच जुँगाको लडाइँ खेल्दा अमेरिका क्षेत्रको सम्मेलन नै रोकिएको ती पदाधिकारीको आरोप छ।