यस्तो छ प्रधानमन्त्री प्रचण्डको चार दिने भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको चार दिने भारत भ्रमण तालिका File Photo

काठमाडौं। प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको चारदिने औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक भएको छ।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी जेठ १७ गतेदेखि हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेका हुन्। भ्रमण टोलीमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालसहित नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारीहरु रहने छन्।

भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन्।

यसैगरी प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग १८ गते हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छन्।

भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।

प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ ९सीआईआई० ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार सम्मेलनलाई सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारिक नेतृत्वसँग अन्तर्क्रिया गर्नेछन्। प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली राजदूत महामहिम शङ्करप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्नेछन्।

प्रधानमन्त्री प्रचण्डले मध्य प्रदेशको उज्जैन र इन्दौरको भ्रमण गरी जेठ २० मा काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

नेपालका प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री’प्रचण्ड’को यो चौथो भारत भ्रमण हो। मन्त्रालयले प्रधानमन्त्रीको यो भ्रमणले नेपाल र भारतबीचको सदियौंपुरानो, बहुआयामिक र सुमधुर सम्बन्धलाई थप मजबुत बनाउनेछ विश्वास लिएको छ।