जेठ १७ बाट प्रधानमन्त्रीको भारत भ्रमण

जेठ १७ बाट प्रधानमन्त्रीको भारत भ्रमण File Photo

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै भारत भ्रमणमा जाने भएका छन्।

१५ जेठमा संसदमा बजेट प्रस्तुत भएको दुई दिनपछि अर्थात १७ जेठमा उनी भारत भ्रमणमा जाने भएका हुन्।

दुवै देशका अधिकारीहरूको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको बताइएको छ।

यद्यपि भ्रमणको औपचारिक रूपमा घोषणा हुन बाँकी छ। नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे जानकारी दिन वक्तव्य जारी गर्ने तयारी गरिरहेको बताइएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत जाने र १८ गते समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन्। जेठ १९ गते उनी मुम्बई जाने र २० गते स्वदेश फर्किने बताइएको छ।

प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएपछि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड आफ्नो पहिलो विदेश भ्रमण भारतबाट गर्न चाहेका छन्।

उनले वैशाखमै भारत भ्रमणको तयारी गरेका थिए। तर, भारतीय प्रधानमन्त्री मोदीको व्यस्त कार्यतालिका र भुटानी शरणार्थी प्रकरणका कारण प्रचण्डको भारत भ्रमण पछि सरेको थियो।