लुकेर अमेरिका पस्न खोजेका नेपाली मेक्सिकोमा अड्किए

लुकेर अमेरिका पस्न खोजेका नेपाली मेक्सिकोमा अड्किए Photo— Bostonglobe, AP

काठमाडौं। गैरकानूनी रुपमा जल र स्थलमार्ग हुँदै अमेरिका छिर्न खोजिरहेका सयौँ नेपालीहरू सीमावारि थुनिएका छन्। मानव तस्करको जालोमा पारी लाखौँ खर्चिएर तीन महिनापछि मेक्सिकोको सीमावर्ती सहरमा पुगेका उनीहरू ‘टाइटल–४२’ को त्राशले सीमामै अड्किएका हुन्।

‘नेपाली–मेक्सिकन’ मानव तस्करलाई तीसदेखि पचास लाखसम्म सुम्पिएर नयाँदिल्ली, टर्की, ब्राजिल, कोलम्बिया, पानामा, निकारागुवा, ग्याटेमाला हुँदै मेक्सिको पुगेर आफूहरू सीमावर्ती सहरमै थन्किएकाे नेपालीहरू बताउँछन्।

आफूहरू एघार दिनदेखि अमेरिका–मेक्सिकाे सीमाक्षेत्रमै बसिरहेको अवैध बाटो हुँदै मेक्सिको पुगेका दाङका नवीन केसीले बताएका छन्। ‘हामीहरू यहाँ आएकाे एघार दिन भइसक्याे। सुनेअनुसार २२ घन्टामै अमेरिका पुगिन्छ रे। तर, नेपाली दलालले यताकाे दलाललाई पूरै पैसा नदिएकाे बुझिएकाे छ,’ उनले  भने।

लुकिछिपी ‘अमेरिकी सपना’ बाेकेर मेक्सिकाे पुगेका धेरै नेपालीहरूलाई मानव तस्करसँगै अमेरिकी कानुन ‘टाइटल–४२’ले तनाव दिइरहेकाे छ। अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले आप्रवासीमाथि कडा र थप प्रतिबन्धात्मक नीति अपनाएकाे छ। याे नीतिकाे मारमा स्थलमार्ग हुँदै अमेरिका छिर्न खोजिरहेका नेपाली र भारतीयसमेत परेकाे अर्का युवा ललित घर्तीमगर बताउँछन्। उनी सात दिनेदेखि अमेरिकी जाने पालाे कुर्दै सीमा नजिकै बसिरहेका छन्।

‘हामीहरू २२–२३ जना छाैँ। नेपाली छाैँ, भारतीय र अन्य देशका पनि छाैँ। अहिले त्यहाँकाे सरकारले टाइटल–४२ भन्ने कानुन लगाएकाे छ रे, त्याे कानुन लागू भएपछि दलाल पनि डराएकाे छ। हामीलाई समेत डर छ,’ ललितले भने, ‘छाेपेर घर फर्काइदिन्छ भन्ने हल्ला छ, त्यसाे भएर हामीहरू यहीँ बसेका छाैँ।’

गएकाे शुक्रबारदेखि आप्रवासीहरूले अमेरिका प्रवेश गर्नुअघि अर्को देशमा शरणार्थीको दर्जाको लागि अनुरोध नगरेमा शरण लिन नपाउने नियम लागू गरेपछि मेक्सिकाे पुगेका धेरै नेपालीहरू अमेरिका छिर्न डराइरहेका छन्। उनीहरू शुभ दिनकाे पर्खाइमा छन्।

‘टाइटल–४२’काे चर्चा र बाइडेन प्रशासनकाे घेराबन्दीकाे मारले नेपाली थप ठगिन र आर्थिक भार बाेक्न बाध्य छन्। दलाललाई लाखाैँ बुझाएर अमेरिका पुग्न सहज छैन। डर उस्तै छ, व्यथा उस्तै।

सीमावर्ती सहरमा थुनिएका कतिपय नेपालीहरू रियो ग्रान्डे नदीको किनारमा टेन्ट लगाएर बसेका छन्। कति सीमापर्खाल नजिकै सुतिरहेका छन्। मेक्सिकाे–अमेरिका सीमानजिकै रहेका नवीनकाअनुसार नेपालीहरूले अमेरिकी भूमिमा पस्ने पलाे कुरिरहेका छन्। हिँडेरै अमेरिकी मुखमा पुगेका हजाराैँ नेपालीहरूले सीमा क्षेत्रमा तनाव झेलिरहेका छन्।

राष्ट्रपति बाइडेन प्रशासनले टाइटल–४२ को अन्त्य गर्दै कडा नियम लागू गरेपनि अमेरिका र मेक्सिको सीमामा शरणार्थी हुन चाहनेहरूको भीड छ। आप्रवासीहरू दिनप्रतिदिन थपिएकै छन्। तर, अघिल्ला हप्ताहरूजस्ताे सीमानाका काट्न पाएका छैनन्। अधिकारीहरूले अमेरिकी जमिन टेक्न नदिएपछि आप्रवासीहरूले काँडेतारकाे छेउमा डेरा जमाएर छन्।