अमेरिका जान आत्तिएका युवालाई दलालले यसरी बनाउँदै थिए भुटानी शरणार्थी

अमेरिका जान आत्तिएका युवालाई दलालले यसरी बनाउँदै थिए भुटानी शरणार्थी file photo

काठमाडौं। महिनौं जंगलबीच हिँडेर होस् वा उडेर, अमेरिका जाने लहरले दङ्गेली युवालाई वर्षौंदेखि हुर्राइरहेको थियो। अघिल्लो दशकदेखि दाङमा पनि ‘अमेरिकी सपना’ हुरहुरी बलिरहेको छ।

पचास लाखसम्म दलाललाई बुझाएर अमेरिका छिर्ने सपना बोकेका दर्जनभन्दा बढी दङ्गेली युवा अहिले पनि ब्राजिल अनि टर्कीमा ‘दलाल’का शिविरमा दिन काटिरहेका छन्। कति जंगल छिरिसकेका छन् सकेसम्म चाँडै मेक्सिको साँधमा लागेका तारबार नाघ्न।

कतिले नदी तर्दा ज्यानै गुमाएका छन्। कति विरानो देशमा अलपत्र छन्। त्यसरी मानव तस्कर गर्नेहरू केही त जेलमै छन्।

यसरी दङ्गेली युवामा अहिले अमेरिका ‘फेसन’ अनि समाजका लागि त्यो एक प्रकारको ‘प्रतिष्ठा’ बनिसकेको छ।

जसरी पनि अमेरिका पठाउने ‘दलाल’ खोज्दै भौतारिइरहेका त्यस्तै दङ्गेली युवाको एउटा हुलले एकदिन गजेन्द्र बुढाथोकीलाई भेटे।

बुढाथोकी लामो समयदेखि अमेरिकामै ‘पीआर’ लिएर बसेका व्यक्ति हुन्। कोरोना महामारीका बेला नेपाल आएका उनले दाङको तुलसीपुरमै ती युवाहरूलाई भेटे। अमेरिका जान बतासिए युवा उनलाई भेटेपछि ढुक्क भए ‘अमेरिकामै बसेको मान्छेले त सायद अलपत्र पार्दैन होला…।’

बुढाथोकी दाङकै पूर्व सांसद बुद्धिराम भण्डारीका साला नाता पर्छन्। २०७० सालको दोस्रो संविधानसभाको चुनावमा उनी एमाले नेता शंकर पोखरेललाई पराजित गरेर संविधानसभाका सदस्य भएका थिए।

त्यसैक्रममा दाङकै सन्देश शर्मा पनि बुढाथोकीसँग जोडिए। शर्मा उनै व्यक्ति हुन्, जसले आफूहरूले बटुलेका नेपाली नागरिकलाई ‘भुटानी शरणार्थी’ बनाएर अमेरिका पुर्‍याउने सपना बाँडिरहेको गिरोहसँग थिए। गृहमन्त्रालयले भुटानी शरणार्थीका समस्या समाधान गर्नका लागि एउटा समिति बनाएपछि त्यो गिरोह चलमलाएको थियो।

यता सन्देश शर्मा, सानु भण्डारी, केशब दुलालहरू नेतादेखि मन्त्रीहरूसम्मको सेटिङ मिलाइरहेका थिए। उनीहरूले ‘नक्कली भुटानी शरणार्थी’ बनेर अमेरिका जान तयार मान्छेहरू खोजिरहेका थिए। उता ७० जनाभन्दा बढी दङ्गेली युवा अमेरिका जाने सपनाले थिचिइरहेका थिए।

त्यही एउटा बिसौनामा भेट भएका उनीहरूले ती युवाहरूलाई चितवनदेखि बिराटनगरसम्म भौतारिन बाध्य बनाए। हरेक पटकको भेटमा पैसा मागे।

कोरोनाको बेला थियो। देश पूरै ‘लकडाउन’ थियो। अमेरिका जान कस्सिएका दाङका एउटा समूहमा ६० जना थिए। तर ती सबै एकै ठाउँमा भेला भएका थिएनन्। सबैलाई लागेको थियो ‘म मात्रै छु कि…।’ एक दिन गिरोहका सदस्यहरूले खबर गरे ‘चितवन आउनुहोला…।’

लकडाउनका बेला गाडी चलाउन पनि अनुमति थिएन। त्यो बेला एकदमै जरुरी अवस्थामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको ‘पास’ भएमात्रै गाडी चलाउन पाइन्थ्यो। ६० जनाभन्दा धेरै मान्छेलाई चितवन लैजानका लागि उनै बुढाथोकीले ‘पास’ मिलाए। उनीहरूलाई चितवनमा लगेर एउटा होटेलमा राखियो। त्यो होटेल तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा ‘प्रतीक थापाको हो’ भनिएको थियो।

त्यो बेला सबैलाई झन् विश्वास लाग्यो ‘अहो गृहमन्त्रीकै सेटिङ…’ फेरि अमेरिकी सपनामाथि अर्को एउटा आशा गाँसियो।

‘त्यहाँ पुग्दा बल्ल थाहा भो, हामी त ६० जनाभन्दा धेरै रैछौं। सबै दाङका’ नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जानका लागि गिरोहलाई पैसा बुझाएका दाङका एकजना युवा भन्छन् ‘अर्को समूहमा अरू १५ जनाजति दाङकै छन् भनेर हामीलाई सुनाएका थिए।’

त्यहाँ सबैजनालाई एउटा फारम भर्न लगाइयो। त्यो केको फारम थियो कसैलाई थाहा भएन। किनकि त्यसमा कुनै पनि विषय वा कुनै संस्थाको नाम लेखिएको थिएन। सबैले आफ्नो नाम, उमेर, मोबाइल नम्बर अनि विवरणहरू पनि भरे। त्यो बेला उनीहरू सबैजसोले ५ देखि १० लाखसम्म बुझाएका थिए।

‘त्यो बेलासम्म हामीलाई कसरी अमेरिका जाँदैछौं भन्ने पनि थाहा थिएन। कसैले केही भनिरहेकै थिएन। तर हामी भने ढुक्क भएका थियौं। अमेरिकामै बस्ने मान्छे समाएपछि सजिलै पुगिन्छ र त्यहाँ(अमेरिकामा) पनि सजिलो हुन्छ भन्ने थियो’ पैसा बुझाएका पीडित भन्छन् ‘त्यो माथि हामीलाई गृहमन्त्रालयकै मान्छेहरू पनि चिनाइएको थियो। अनि झन ढुक्क भएर पैसा दियौं।’

त्यही समूहमा गृहमन्त्रालयकै मान्छे भनेर एकजना अलि पाको उमेरका व्यक्ति पनि पुगेका थिए। उनलाई गृहमन्त्री रामबहादुर थापाको सचिवालयबाट आएको भनेर गिरोहले चिनाएका थिए। त्यहाँ गिरोहका सन्देश शर्मा अनि बुढाथोकीहरू पनि थिए। मास्क लगाएका कारण गृहमन्त्रीको सचिवालयबाट आएका भनिएका ती व्यक्तिको अनुहार भनेर कसैले देखेनन्। उनीहरू काठमाडौंबाट एउटा सरकारी गाडीमै त्यहाँ पुगेका थिए।

‘त्यसपछि अब तपाईंहरूको प्रोसेस अघि बढ्यो भनेर हामीलाई फेरि फर्काइयो’ पीडित भन्छन् ‘केही समय नियमितजसो मोबाइलमा अनि मेसेन्जर र ह्वाट्सएपहरूमा पनि कुराकानी भइरहन्थ्यो।’

‘प्रोसेस’ सुरु भएको केही महिना बित्यो। त्यसपछि उनीहरूलाई फेरि बिराटनगर बोलाइयो। सबैजना बिराटनगर पुगे। ‘सायद अब उड्नसक्ने पनि हुनसक्छ…’ भनिएको थियो। त्यसैले धेरैजसो त उड्ने तयारीमै बिराटनगर पुगेका थिए।

बिराटनगर पुगेपछि थाहा भयो उनीहरू त ‘भुटानी शरणार्थी’ बनेर अमेरिका उड्दै रहेछन्। त्यो पनि नक्कली। अब उनीहरूको परिचय फेरिइसकेको थियो। नाम, थर अनि सबथोक फेरिंदै थियो।

शरणार्थीको परिचयपत्र बनिसकेको छ भनेर गिरोहले त भन्यो तर पैसा बुझाएकाहरूले पाइरहेका थिएनन्।

‘परिचयपत्र बनिसकेको छ। तपाईंहरूको सबको नाम, थर त्यसैमा हुन्छ अनि यसो गर्नू… उसो गर्नू… भनेर हामीलाई धेरै कुरा सिकाइएको थियो। तर त्यो भुटानी शरणार्थी बनेर जाँदैछौं भन्ने कुरा कसैलाई नभन्नू भनेर गिरोहले चेतावनी पनि दिएको थियो’ ती पीडित भन्छन् ‘त्यही बेला हामीले परिचयपत्र माग्यौं तर उनीहरूले त्यो परिचयपत्र शिविरभित्रै छ। त्यहाँ जाँदा झन लफडा हुन्छ भनेर हामीलाई दिएनन्।’

बरू गिरोहले केही दिनमै त्यो शरणार्थी परिचयपत्र शिविरबाट निकाल्ने व्यवस्था मिलाईरहेको र त्यसपछि ‘काम’ हुने भनेर उनीहरूलाई फकाए। केही दिनपछि फेरि केही लफडा भयो भनेर उनीहरूलाई त्यहाँबाट फर्काए। फर्काउँदै गर्दा फेरि पैसा मागे।

‘त्यहाँ पनि हामीले पाँच लाख, कसैले दश, बीस अनि पैंतालिस लाखसम्म बुझायौं’ एकजना पीडितका अनुसार ‘गिरोहले जसले सबै पैसा छिटो बुझाउँछ उसको पालो पहिला आउँछ पनि भनेका थिए।’ दाङको त्यही समूहका एकजना महिलाले त पैतालिस लाख नै बुझाइन्। चाँडै अमेरिका उड्न आशमा। पैसा बुझाएर दाङको त्यो टोली फेरि घर फर्कियो।

त्यसपछि विस्तारै गिरोहका सदस्यहरू सम्पर्कबिहीन हुन थाले।

‘सुरु सुरुमा कुराकानी भयो त्यसपछि उनीहरूसँग सम्पर्क नै हुन छोड्यो। बल्ल बल्ल भए पनि काम हुदैछ… भनेर हामीसँग लामो कुरै गर्न छोडे’ पीडितहरू भन्छन् ‘त्यसपछि त कैयौं दिनसम्म सम्पर्क नै भएन अनि पो हामी आत्तिन थाल्यौं।’

त्यो बेलासम्म बुढाथोकी भने अमेरिका उडिसकेका थिए। अमेरिकाबाटै उनले गिरोहका सदस्यहरूसँग गरेका कुराकानीको अडियो रेकर्ड अहिले सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती छ।

पैसा डुब्दैछ भन्ने थाहा भएपछि केही पीडितहरू कांग्रेस नेता तथा पूर्व सांसद बुद्धिराम भण्डारीसँग गुहार माग्न पुगे। पैसा बुझाएका धेरै व्यक्तिहरू भण्डारीकै क्षेत्रका थिए। केही त छिमेकी पनि।

भण्डारीले गृहमन्त्री बालकृष्ण खाणसँगै त्यो कुरा राखे। तर खाण पनि त्यही गिरोहमा थिए। जो अहिले प्रहरी हिरासतमा छन्। उनका सुरक्षा सल्लाहकार जसले प्रतिवेदन ‘कीर्ते’ गर्नेसम्मको सेटिङ मिलाए उनी पनि अहिले हिरासतमा छन्। त्यो बेला गृहमन्त्री खाणले त्यो कुरा ‘हुन्छ हुन्छ’ भन्दै टार्न खोजे। पीडितहरूले भने २०७९ साल जेठतिर दाङ जिल्ला प्रहरी कार्यालयमा सन्देश शर्मालगायतका विरुद्ध आफूहरू ठगिएको भन्दै उजुरी हालिसकेका थिए।

त्यसपछि घटनालाई तत्काल सामसुम पार्न गिरोहका सदस्य भनेर दुईजना व्यक्तिलाई प्रहरीले पक्राउ गर्‍यो। अनि केही समयपछि उनीहरूलाई छोडियो।

‘मान्छे समातिएपछि हामी पनि अब पैसा फिर्ता पाउँछौं कि भनेर आशिएका थियौं तर उनीहरू त्यत्तिकै छुटे’ एकजना पीडितले भने।

गिरोहले आफ्ना मान्छे घुसाएर भुटनी शरणार्थीबारे अध्ययन गरिएको प्रतिवेदनलाई केरमेट गर्दै आफू अनूकुल बनाए पनि त्यो सफल हुन सकेन। समितिकै केही सदस्यहरूको राय बाझिन थालेपछि ‘नक्कली भुटानी शरणार्थी’ बनेर अमेरिका उड्नेहरूको सपना अब थलिइसकेको थियो।

उता घरबासै बन्धकी राखेर गिरोहलाई पैसा बुझाएहरू झन् अत्तालिन थाले। जिल्लाका नेताहरूसँग गुहार माग्न थाले। तर, त्यो निकै जटिल केस थियो।

जिल्लाबाट केही सिप नचल्ने देखिएपछि पीडितहरूले काठमाडौं आएर प्रहरीमा उजुरी गरे। त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धान गर्दै जाँदा त्यसको सञ्जाल निकै ‘माथि’सम्मै गाँसिएको थियो।

‘मन्त्री अनि सांसदहरू पनि तानिने भएपछि हामीले यो केसमा निकै संवेदनशील भएर अध्ययन र अनुसन्धान गरेका थियौं’ अनुसन्धानका एकजना प्रहरी अधिकृत भन्छन् ‘यो लहरो अनि पहरोका बारेमा सबै नेताहरूलाई यसअघि नै थाहा थियो। सूचना त चुहिहाल्छ।’

उनका अनुसार यो प्रकरणमा अरू पनि धेरै नामहरू मुछिएका छन्। नाम मुछिएकाहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। दरिलो प्रमाण भेटिएकाहरूलाई पक्राउ पनि गरिरहेको छ।