संसदमा अर्धनग्न भएर विरोध
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्न नदिएको भन्दै सांसद अमरेशकुमार सिंहले लुगा फुकालेर (अर्धनग्न भएर) विरोध जनाएका छन्।
सभामुख देवराज घिमिरेले बैठकको सुरुमै आज आकस्मिक समय नरहेको र सोझै कार्यसूचीमा प्रवेश गर्ने बताएका थिए। तर केही सांसदहरूले बैठकमा उभिएर त्यसको विरोध जनाए।
सांसद सिंहले पनि आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै सभामुखलाई आग्रह गरेका थिए। तर सभामुख घिमिरेले उनलाई बोल्ने समय उपलब्ध नगराएकाले बस्न भनेका थिए। तर सांसद सिंहले आफूले लगाएको सर्ट फुकालेर विरोध जनाएका हुन्। सांसद सिंहले संसद्को मर्यादाविपरीत क्रियाकलाप गरेको भन्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को निमय ३० अनुसार पटकपटक चेतावनी दिएपछि सांसद सिंह आफ्नो स्थानमा बसेका थिए। आजको बैठकको शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले यस्तो क्रियाकलाप संसदीय अभ्यासविपरीत रहेको धारणा राखेका थिए।