एमाले सचिव एवं पूर्वमन्त्री रायमाझी प्रहरी नियन्त्रणमा
काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा मुछिएका एमाले सचिव एवं पूर्वउपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नक्कली भुटानी शरणार्थी घटनामा मुछिएका रायमाझीलाई प्रहरीले भैरहवाबाट नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुुसार रायमाझीलाई बिहीबार बिहान भैरहवाबाट नियन्त्रणमा लिइएको हो।
उनलाई आजै काठमाडौं ल्याउने तयारी छ। यद्यपि रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता श्यामु अर्यालले रायमाझी पक्राउ परेकोबारे आफूहरूलाई जानकारी नरहेको बताएका छन्।
तर प्रहरीको गोप्य स्रोतले दिएको जानकारी अनुसार रायमाझी बिहीबार बिहानै पक्राउ परेका हुन्।
उनका छोरा सन्दी रायमाझी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए। रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
रूपन्देही प्रहरी स्रोतका अनुसार काठमाडौंबाट गएको प्रहरीको विशेष टोलीको समन्वयमा रायमाझीका बाबु र छोरालाई नियन्त्रणमा लिइएको हो।