१ किलो गाँजा तस्करीको आरोपमा फाँसी
काठमाडौं- सिंगापुरमा एक किलो गाँजा तस्करी गरेको आरोपमा एक जनालाई फाँसी दिइएको छ।
गाँजा तस्करी गरेको आरोपमा सिंगापुर सरकारले तंगराजु सुपैयालाई फाँसी दिएको हो।
सुपैयालाई फाँसीको सजाय दिइएकोमा संयुक्त राष्ट्र संघ, सामाजिक कार्यकर्ता र परिवारका सदस्यहरूले विरोध गरेका थिए।
यसका बाबजुद ४५ वर्षीय सुपैयालाई बुधबार जेलमा फाँसी दिइएको छ।
सुपैयालाई कमजोर प्रमाणका आधारमा फाँसी दिइएको र उनलाई सीमित कानुनी सहयोग उपलब्ध गराइएको सामाजिक कार्यकर्ताहरूको भनाइ छ।
तर, सिंगापुर प्रशासनले भने कानुनको पालना भएको दाबी गरेको छ।
प्रशासनले अदालतको फैसलामाथि प्रश्न उठाउने सामाजिक कार्यकर्ताहरूको आलोचना गरेको छ।
सिंगापुरमा विश्वकै सबैभन्दा कडा नशाविरोधी कानुन रहेको छ।
समाजको सुरक्षाका लागि नशासम्बन्धी कडा कानुन जरूरी रहेको सिंगापुरका अधिकारीहरूको भनाइ छ। तर, सामाजिक कार्यकर्ताहरू फाँसीको सजायको विरोध गर्दै आइरहेका छन्।
सुपैया एक किलो गाँजा सिंगापुरबाट मलेसियासम्म पु¥याएको घटनामा दोषी ठहर भएका थिए। यद्यपि उनको साथबाट गाँजा बरामद भएको थिएन।
अभियोजन पक्षले तस्करीको योजनाकार सुपैया रहेको दाबी गरेको थियो।
ट्रेस गरिएको दुईवटा मोबाइल नम्बर सुपैयाको रहेको सरकारी वकिलले दाबी गरेका थिए।
तर, सुपैयाले यो घटनामा संलग्न अन्य कुनै व्यक्तिसँग आफूले कुराकानी नगरेको बयान दिएका थिए।
आफ्नो फोन हराएको र अर्को एउटा फोन अर्कै व्यक्तिको रहेको उनले बताएका थिए।
गत वर्ष २२ अप्रिलमा पनि एक अन्य लागुऔषध तस्कर नागेन्द्रन धर्मलिंगमलाई फाँसी दिइएको थियो।
नागेन्द्रन २०१० मा तीन चमचा हिरोइनका साथ पक्राउ परेका थिए।