जसले आफैंलाई भोट हाल्न पाएनन्

जसले आफैंलाई भोट हाल्न पाएनन्

काठमाडौं। तीनवटा जिल्लाको तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सदस्य चयन गर्न बिहान ७ बजेदेखि मतदान जारी छ।

बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य चयन गर्न मतदान भइरहेको हो।

तीनवटै निर्वाचन क्षेत्रमा तोकिएकै समय बिहान ७ बजेदेखि मतदान सुरू भएको छ। उपनिर्वाचनमा भोट खसाल्न मतदाताहरूको उत्साहजनक सहभागित देखिएको छ।

चितवनमा १०४ र तनहुँमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छन्।

उपचुनावमा लडेका उम्मेदवारहरू मतदान केन्द्र पुगेर मतदाता भेट्न व्यस्त रहेका छन्। आफूलाई मतहाल्न उनीहरूले मतदाताहरूलाई आग्रह गरिरहेका छन्।

तर, तीनवटै निर्वाचन क्षेत्रमा चुनावी मैदानमा उत्रिएका कतिपय उम्मेदवारले आफैंलाई भोट हाल्न नपाउने पाएका छन्। चुनाव भइरहेको क्षेत्रको मतदाता नामावलीमा नाम नभएकाले उनीहरूले आफैंलाई मत हाल्न नपाएका हुन्।

बारा–२ मा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका छन्।

मतदाता नामावली अन्य स्थानमा रहेकाले उनीहरूले मतदान गर्न नपाएका हुन्।

यादवको मतदाता नामावली सुनसरीमा रहेको छ। खरेलेको मतदाता नामावली काठमाडौंमा रहेको छ भने पौडेल बाराकै भए पनि उनी उपचुनाव भइरहेको निर्वाचन क्षेत्रका होइनन्।

उनको मतदाता नामावली निजगढ नगरपालिकामा रहेको छ।

यो क्षेत्रमा जनमत पार्टीबाट उम्मेदवार रहेका शिवचन्द्र कुशवाहा भने स्थानीय उम्मेदवार हुन्। उनले मतदान गरेका छन्।

बारा–२ को १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदान स्थलामा १३६ मतदान केन्द्र तोकिएको छ।

दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ जना उम्मेदवार यो क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका छन्।

४ मंसिरमा भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

चितवन–२ मा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले शक्तिखोरस्थित चतुर्मुखी उच्च मावि मतदान केन्द्र पुगेर मतदान गरेका छन्।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने आफैंले मतदान गर्न पाउने छैनन्।

लामिछानेको मतदाता नामावली काठमाडौंमा र एमालेका न्यौपानेको चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा रहेको छ।

चितवन–२ मा १ लाख २४ हजार ६९५ मतदाताका लागि ४३ स्थानमा १३८ मतदान केन्द्रहरू रहेका छन्।

कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासहित चितवन–२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र नारायणगढ बजार क्षेत्रमा पर्ने १० वटा वडाहरू छन्।

४ मंसिरमा भएको निर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने निर्वाचित भएका थिए।

सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरिदिएपछि लामिछानेको सांसद पद गुमेपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

यस्तै तनहुँ–१ मा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले मत हाल्न पाउन छैनन्।

खनाल र वाग्लेको मतदाता नामावली काठमाडौंमा रहेकोले उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका हुन्।

तनहुँ–१ मा १ लाख २३ हजार ३०५ मतदाताका लागि ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र तोकिएको छ।

४ मंसिरमा भएको निर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन गरिएको हो।



No ads found for this position