नेपालमा खोजी गरिएका खालिस्तानी नेता अमृतपाल भारतमै गिरफ्तार

नेपालमा खोजी गरिएका खालिस्तानी नेता अमृतपाल भारतमै गिरफ्तार

काठमाडौं। एक महिनाभन्दा लामो समयदेखि फरार रहेका ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख खालिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले पक्राउ गरेको छ।

सिंह पक्राउ परेको पञ्जाब प्रहरीका वरिष्ठ अधिकारीहरूले पुष्टि गरेका हुन्।

पञ्जाब प्रहरीले आफ्नो ट्विटरबा समेत यसको पुष्टि गर्दै उनलाई पञ्जाबको मोगाबाट पक्राउ गरिएको जनाएको छ।

प्रहरीले नागरिकहरूसँग शान्ति र सदभाव कायम राख्न अनुरोध गरेको छ।

सिखहरूका लागि स्वायत्त राज्यको माग गर्दै आएका उनी १८ मार्चदेखि फरार थिए।

सिंह नेपालमा लुकेको हुनसक्ने भन्दैै काठमाडौंस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत खोजी गरिदिन अध्यागमन विभागलाई पत्र लेखेको थियो।

को हुन अमृतपाल सिंह?

२९ वर्षीय सिंह सिख स्वायत्त राज्य (खालिस्तान) स्थापना गर्ने उद्देश्य राख्ने ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख हुन्।

सिंहको मूल थातथलो पञ्जाबको अमृतसर जिल्लामा छ। तर, सन् २०१२ मा दुबई गएर उनी आफ्नो परिवारले चलाएको यातायात व्यवसायमा संलग्न भएका थिए।

गत वर्ष अगस्तमा उनी पञ्जाब फर्किए।

अमृत सञ्चार र नसामुक्त आन्दोलनमार्फत उनले युवाहरूलाई आफूतिर आकर्षित गरे।

दुबईबाट भारत फर्कँदा उनी आफ्ना पुराना तस्बिरमा भन्दा स्पष्टसँग फरक शैलीमा देखिए। पहिला उनको कपाल र दाह्री चिटिक्क पारेर काटेको देखिन्थ्यो।

नयाँ तस्बिरमा उनी सिख धार्मिक अभियानमा संलग्न कट्टर व्यक्तिजस्तै देखिए। त्यसको एक महिनापछि उनी ‘वारिस पञ्जाब दे’ का प्रमुख नियुक्त भए।

यो संगठन अभिनेता तथा अभियानकर्मी दीप सिधुले स्थापना गरेका हुन्।

उनी किसानहरूको प्रदर्शनका क्रममा पक्राउ परेका थिए। गत वर्ष एउटा कार दुर्घटनामा परेर सिधुको मृत्यु भएको थियो।

के छ अभियोग?

पृथक्तावादी अभियानलाई चर्काउन खोजेको आशंकामा भारतले उनलाई निगरानीमा राख्दै आएको थियो।

पञ्जाब प्रहरीका अनुसार ‘वारिस पञ्जा दे’ का कार्यकर्ताहरूविरूद्ध चारवटा मुद्दा लगाइएको छ।

उनीहरूविरूद्ध समाजमा अस्थिरता सिर्जना गरेको, योजना बनाएर हत्या गरेको, प्रहरीमाथि आक्रमण गरेको र सरकारी कर्मचारीको काममा बाधा पु¥याएको जस्ता अभियोग लगाइएको छ।

पञ्जाबमा प्रहरीले जालन्धरको शाहकोट क्षेत्रमा छापमा मार्दै खोजी गर्दा समेत उनी पक्राउ पर्न नसकेपछि व्यापक खोजी भइरहेको थियो।

पछिल्लो समय विवादित भाषणका कारण उनी चर्चामा छन्।

सिंहका समर्थकहरूले गत फेब्रुअरीमा हिरासतमा रहेको उनका सहयोगीको रिहाइ माग गर्दै एक प्रहरी चौकीमा धावा बोल्दा त्यहाँ हिंसा भड्किएको थियो।

अनियन्त्रित भिडमा रहेको मानसिहरूमध्ये धेरैले बन्दुक र तरबार बोकेका थिए। आफ्ना साथी रिहा हुने सुनिश्चित भएपछि मात्रै त्यहाँबाट बाहिरिएका थिए।

प्रहरी अधिकारीहरूले पछि दाबी गरेअनुसार उनीहरूले सिखहरूको पवित्र ग्रन्थ ‘गुरुग्रन्थ साहिब’ लाई ढालका रूपमा प्रयोग गरेका कारण भिड नियन्त्रण गर्न कठिन भएको थियो।

धेरैलाई चिन्तित पारेको अर्को विषय अमृतपाल सिंहको रूप पनि हो। उनको हाउभाउ र रूप अहिले जरनेल सिंह भिन्डरावलेको जस्तै देखिन्छ।

भिन्डारेवालेको नेतृत्वमा झन्डै एक दशक चलेको विद्रोहका क्रममा हजारौं मानिसको मृत्यु भएको थियो।

विद्रोहीहरूले मुख्य नेतादेखि साधारण मानिसहरूलाई पनि निसाना बनाएका थिए।

प्रहरी कारबाहीमा सैयौं सिख युवाहरू मारिएका थिए।

पञ्जाबमा अझै त्यो हिंसाको त्रास पाइन्छ।



No ads found for this position