एसिसी प्रिमियर कप : मलेसियाविरूद्ध नेपालको सानदार जित
काठमाडौं। एसिसी प्रिमियर कपमा मलेसियाविरूद्ध नेपालले सानदार जित निकालेको छ।
प्रिमियर कपअन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सानदार जित निकालेको हो।
टस जितेर पहिले ब्याटिङ गर्दै मलेसियाले जितका लागि दिएको २३६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ३६.२ ओभरमा पूरा गर्यो।
नेपालका तर्फबाट ब्याटिङ गर्दै भीम सार्कीले सर्वाधिक ७१ रन जोडे। त्यस्तै कुसल मल्लले आक्रमक ब्याटिङ गर्दै ४० बलमा ७० रन बनाए।
भीमले आफ्नो ७१ रनको इनिङमा ५ चौका प्रहार गरे भने कुसल मल्लले ५ चौका र ५ छक्का प्रहार गरेका थिए।
भीम र कुसलको लामो साझेदारीका कारण नेपाली टिम सहज जित निकाल्न सफल भयो।
कप्तान रोहित पौडेलले ४२ र कुसल भुर्तेलले ३८ रन जोडे। भुर्तेलसँगै ओपनिङ गर्न आएका आसिफ शेख १ रन बनाएर आउट भए।
यसअघि ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर नेपालसामू २३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कप छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन्।
१० टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ।
समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेयिबा, कतार र ओमान छन्।
समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन्।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टिमले सेमिफाइनल खेल्नेछन्। फाइनल जित्ने टिम एसिया कपका लागि छनोट हुनेछ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते त्रिवि मैदानमा हुनेछ।
आइसिसी विश्वकप लिग–२ मा नेपालले गत दुई महिनामा खेलेको १२ मध्ये ११ खेल जितेर विश्वकप छनोटमा पुगेको थियो। घरेलु मैदानमा नेपालले खेलेको सबै ८ खेल जितेको थियो।
एसिसी प्रिमियर कपमा पनि नेपाली टिमलाई घरेलु मैदानको सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ।
तर, नेपालसँगै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओमान र युएईलाई पनि एसिया कपमा पुग्नसक्ने बलियो दाबेदारको रूपमा हेरिएको छ।