बैंकहरूले घटाए ब्याजदर
काठमाडौं। वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्।
नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले मुद्दती तथा बचत खाताको ब्याजदर वैशाखदेखि घटाउने निर्णय गरेको हो।
यो निर्णयसँगै वैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झर्ने भएको छ। निर्णयअनुसार व्यक्तिगत मुद्दती खातामा वाणिज्य बैंकहरूले अधिकतम ९.९ प्रतिशतसम्म ब्याजदर दिनेछन्।
त्यस्तै, संस्थागत खातामा ७.९ प्रतिशतसम्म दिनेछन्।
बैंकहरूले हालसम्म व्यक्तिगत मुद्दतीमा ११ तथा संस्थागत मुद्दतीमा ९ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए।
त्यस्तै बचत खाताको ब्याजदर पनि घट्ने भएको छ। वैशाखदेखि बैंकहरूले साधारण बचत खातामा ५.४ देखि ७.४ प्रतिशतसम्म ब्याजदर दिनेछन्।
कर्जाको ब्याजदर वैशाखदेखि सामान्य घट्ने भएको छ। चैत मसान्तसम्मको आधार दरको आधारमा वैशाखदेखि कर्जाको पनि ब्याजदर घट्ने संघले जनाएको छ।
अहिले निक्षेपमा घटेको ब्याजदरको प्रभाव केही महिनापछि मात्रै कर्जाको ब्याजदरमा पर्नेछ।
नयाँ आधार दर गणनापछि बैंकहरूले कर्जाको ब्याजदर समायोजन गर्नेछन्।
हाल ऋणिहरूबाट वाणिज्य बैंकहरूले १४ प्रतिशतभन्दा बढी ब्याज नलिएको दाबी गर्दै आएका छन्।