१४ वर्ष खाडीमा बिताएका कुमार फर्केर कृषिमा रमाउँदै

१४ वर्ष खाडीमा बिताएका कुमार फर्केर कृषिमा रमाउँदै

उर्लाबारी । उर्लाबारी–९ स्थित आम्बाडीमा कामना कृषि फर्मु पछिल्लो समय चर्चामा छ। उर्लाबारी बजारदेखि करिब ४ किमि दक्षिणतर्फ सञ्चालनमा छ, कृषि फर्म।

अहिले बारीमा काँक्रा टन्नै फलेको छ। त्यस्तै करेला, टमाटर, खर्बुजालगायतका कृषिजन्य उत्पादनहरू हुन्छन्। मौसमअनुसार सिमी, बोडी, कागती, भिण्डी, गोभी, टमाटरलगायतका तरकारीहरू पनि प्रशस्त फल्छन् बारीमा। यही कृषि फर्मका सञ्चालक हुन्, ४६ वर्षीय विष्णुकुमार बराल, जो गाउँमा कुमार बरालको नामले परिचित छन्।

केहीदिन अगाडि मध्य दिनमा पत्रकार मित्र तेजन खड्का र टीका सिम्खडासहित पुग्दा कुमार बराल धमाधम नयाँ ड्याङ बनाउनमा व्यस्त थिए। तराईको चर्को घामको बेवास्ता गर्दै उनी एक सहयोगीको साथमा कोदालीले खन्दै ड्याङहरु मिलाउँदै थिए। अब छिट्टै यो नयाँ ड्याङमा भिण्डी लगाउने तरखरमा थिए, उनी। निकै फुर्तिलो र मेहनती कृषकको पौरख देख्दा जो कसैलाई हौसला बढ्छ्, कृषि फर्ममा हरियाली उत्पादन देख्दा डाहा पनि।

वि.स. २०२४ तिर कुमारका पिताजी ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पर्ने सिम्ले मेदिबुङ गाउँदेखि धानको भात खान तराई झरेका उनी बताउँछन्। पहाडमा दुख थियो, जति दुख गरेपनि उब्जनी कम भएकोले पहाडका धेरै मानिसहरु धान खेती गर्न तराई झरे। उतिबेला तराईमा औलोको महामारीसँग जुध्दै बरालका बुबालगायत पहाडदेखि झरेका अन्य किसानहरुले कडा मेहनत गरेर घनाघोर जंगललाई उर्बर खेतीपातीमा परिणत गरे। उनका पिताजीका २ छोरा र १ छोरीमध्ये कान्छो छोरा हुन्, कुमार।

२ दशक अगाडि अन्य नेपाली युवाको विदेश मोहको लहरमै लागेर उनले पनि वैदेशिक रोजगारको बाटो रोजे। कतारमा करिब ९ वर्ष ड्राइभिङ पेशा गरे, पछि इराकमा ५ वर्ष। विदेशी भूमि र मरुभूमिको भूगोलमा कडा परिश्रम गरेको उनी सुनाउँछन्। ‘त्यतिबेला इराक र अमेरिकाबीच लडाइँ चलिरहेको थियो। टाउकोमा ५ किलोको हेल्मेट र बुलेट प्रुफ ज्याकेट लगाएर ठूलो ट्रकमा खाद्यन्नलगायत अन्य समान ढुवानी गरियो,उनी इराकमा बिताएका दिनहरु सम्झिन्छन्, ‘कतिबेला कहाँ बम पड्किन्छ पत्तै हुन्थेन।’

जतिन्जेल विदेश रहे, कम्पनीको काम जिम्मेवारीपूर्वक निभाए उनले। अमेरिकी सैनिकको गाडीले अगाडिपछाडि इस्कोर्टिङ गर्थे, उनीहरु गाडी हुइँकाउँथे। दिनको १२ देखि १४ घण्टा काममा खटेको उनी बताउँछन्।

अन्तत : १४ वर्षको वैदेशिक रोजगार टुंग्याएर मातृभूमि फर्किए। नेपाल आएर विगत ८ वर्षदेखि उनले आफ्नो २ विघा जमिनमा कृषि फर्म सञ्चालन गरिरहेका छन्। कुमारलाई अन्य दुई सहयोगीले कृषि फर्ममा सहयोग गर्छन्। साथै जीवन संगिनी मेनुका बराल र जेठो छोरो पनि उनलाई फर्ममा साथ दिँदै आएका छन्। कान्छो छोरा भने वैदेशिक रोजगारमै छन्।

विदेशमा निकै परिश्रम गरेका उनले त्यस्तो परिश्रम स्वदेशमै गरे मनग्य आम्दानी हुने उनको अनुभव छ। ‘विदेशमा सागसब्जीभन्दा मासु निकै महंगो छ। हाम्रो यहाँ सागसब्जीको निकै सस्तो छ’, उनी भन्छन्। उनी त्यहाँ हुँदा १ केजी मासुको १० रियाल थियो, एक मुठा सागको १५ देखि २० रियाल।

मध्य दिनको गर्मीमा हामी उनको फर्ममा फलेको ताजा र अर्गानिक काँक्रा नुन–खुर्सानीसँग खाँदै गफिँदै गर्दा हँसिली र फरासिलो स्वभावकी बराल श्रीमती उनको लोग्ने सँगै खेती किसानीमा खुसी थिइन्। ‘विदेशमा बम, गोलाबारुदको बीचमा काम गर्न भन्दा आफ्नै खेतबारीमा परिवारसाथ मिठो मसिनो र दुख–सुख बाँड्दै जिउन पाउनु कति आनन्द छ,’ उनी सन्तोषको सास फेर्दै आफ्नो कुरा सुनाउँछिन्।

कुमारले आफ्नो घर छेउको २ विघा जमिनमा मौसमअनुसारको तरकारी र फलफूल मात्रै फलाउँदैनन्, अलिक पर भाइको ४ विघा खेतमा मकैसमेत रोपेका छन्। फर्ममा अहिले काँक्रा मनग्य फलेका छन्। दैनिक २५–३० मनजति काँक्रा घरमै गाडी लिएर खरिद गर्न आइपुग्छन्। ‘आज बिहान पनि गाडीले ३० मनजति लग्यो,’ श्रीमती भन्छिन्, ‘यसबाहेक नजिकका छर–छिमेक पनि तरकारी र फलफूल किन्न आइरहन्छन्।’

स्वदेशमा मेहनत र पसिना बगाउन सके विदेशमा रोजगारको लागि भौँतारिन नपर्ने उनको तर्क छ। सुरुमा कृषि पेशा थाल्दा केही निराश भएपनि हाल उनी सन्तुष्ट छन्। पहिला उनी जस्तै सयौं युवाहरु खाडीलगायत विभिन्न देशमा काम खोज्दै भौँतारिएका थिए, अहिले यो क्रम झन बढ्दो छ।

मेहनत र परिश्रम गर्न आफ्नै माटोमा पसिना बगाउन पाउँदा निकै खुशी छन्, कुमार। उनी बिहानदेखि बेलुकीसम्म आफ्नै खेतबारीमा कृषिकर्ममा खट्छन्। उर्लाबारी नगरपालिकाले तरकारी खेतीद्वारा खाद्य सुरक्षा र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएकोले बराललाई २०७८ मा उत्कृष्ट कृषकको रुपमा सम्मानितसमेत गरेको थियो।

हालसम्म उनले करिब ८ लाख जति लगानी गरेको सुनाउँछन्। आफूले गरेको मेहनतको फल पनि पाएको र कृषिकर्ममा सन्तुष्ट रहेका कुमार बताउँछन्। ुम सन्तुषट छु। मेहनत गरेअनुसार फल पाइरहेको छु। अहिले दैनिक मोटामोटी १५–२० हजारसम्मको उत्पादन बिक्री भइरहेको छ,’ उनले भने। उनले विभिन्न समयमा नगरपालिका र संघ संस्थाबाट कृषिसम्बन्धी तालिम पनि लिएका छन्।

नेपाल कृषि प्रधान देश भनिए पनि यस क्षेत्रमा सरकारको उचित ध्यान नपुगेको उनी बताउँछन्। सरकारले किसानलाई त्यति महत्व नदिएकोमा भने उनको चित्त दुखाइ रहेको छ। ‘कृषि पेशालाई अलिक अपहेलित पेशा ठान्छन् हाम्रो समाज र सरकारले,’ उनी दुखेसो पोख्छन्।

समयमा मल, विउ र उचित मूल्य नपाउँदा उनी कहिलेकाहीँ दुखी हुन्छन्। सरकारले एकीकृत मूल्य निर्धारण गर्ने र भण्डारणमा सहयोग गरिदिए किसानलाई राहत पुग्ने उनको बुझाइ छ। उनी भन्छन्, ‘स्वदेशमा फलेका तरकारी र फलफूलले उचित भाउ पाउँदैन। छिमेकी देश भारतमा सरकारको कृषि नीतिका कारण हाम्रो उत्पादनभन्दा सस्तो मूल्यमा बजार ओगटेको छ।’

ुभारत सरकारले किसानलाई सुपथ मूल्यमा विउ, मल, सिँचाइ र आर्थिक सहयोग गरेका हुन्छन्। तर, हाम्रो देशमा सरकारले अलिअलि मात्रै गरेको छ। भारतको जस्तो सहयोग छैन, जसले गर्दा किसान मारमा पर्छन्,’ उनले भने, ‘उत्पादन वस्तु बजार पुग्दासम्म हाम्रोभन्दा सस्तो हुन्छ, हाम्रो महँगो पर्दछ। किसान सधै मारमा परेको छ। यसप्रति सरकारले अलिक धेरै चासो दिन जरुरी छ।’

समयमा विउ, मल, सिँचाइ, आर्थिक सहयोग र एकीकृत मूल्य निर्धारण गरिदिन सरकारलाई उनको आग्रह छ। कुमार एक मेहनती र इमान्दर कृषक हुन्। उनमा जोश छ, जाँगर छ। कृषि उत्पादनले देशमा रोजगार सिर्जना हुने उनको विश्वास छ। उनको कृषिप्रतिको लगाव र मेहनतको फल अन्य गाउँलेको लागि उदाहरण बनेको छ। ‘कृषि पेशामा हजारौँ युवाहरुले देशमै परिश्रम गर्न सके नहुने केही छैन,’ भन्ने सकारात्मक सन्देश दिन चाहन्छन्, उनी।

सरकारले पनि कृषि पेशालाई थप मर्यादित बनाउनुपर्छ। किसानहरुलाई सम्मान गर्नुपर्छ, उनीहरुको पसिनाको मूल्य र हक अधिकारको लागि सरकारले संरक्षण गर्न सके युवाहरु पनि यस पेशाप्रति आकर्षण हुने उनको विश्वास छ।

हाल देशमा केही हुँदैन विदेश नै जानुपर्छ भनेर युवाहरुमा व्यप्त निराशा छाएको छ। कृषि पेशामा इमान्दर र मेहनत गरे हजारौं युवाहरुलाई स्वदेसमै रोजगारी सिर्जना गर्न सक्छ, आर्थिक आयआर्जनमा सहयोग पुग्नेछ र केही हदसम्म विदेशिनबाट रोक्न सक्नेछ।