जनकपुरमा बन्ने भयो अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम

जनकपुरमा बन्ने भयो अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम

काठमाडौं। मधेस प्रदेसको राजधानी जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम निर्माणका लागि पहल सुरू भएको छ।

जनकपुरधाम नगरपालिका–१४ स्थित रजौलमा २३ बिघा जग्गामा क्रिकेट स्टेडियमा निर्माणका लागि प्रदेस सरकार, उपमहानगरपालिका र प्रदेस सांसदहरूले पहल थालेका हुन्।

खेलकुद परिषदले गुठी संस्थानबाट लिजमा लिएको जग्गामा ‘रामजानकी क्रिकेट स्टेडियम’ निर्माणका लागि प्रदेस सरकारले अग्रसरता लिएको हो।

मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेस सांसदहरू दीपेन्द्र ठाकुर, शेषनारायण यादव र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलगायतका व्यक्तिहरू बुधबार स्टेडियम निर्माणाधीनस्थलको निरीक्षण गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षअघि जनकपुर भ्रमणमा आएका बेला जनकपुर विकासका लागि घोषणा गरेको सय अर्ब भारतीय रूपैयाँसहित थप रकम प्रदेस सरकारका तर्फबाट विनियोजन गरेर स्टेडियम निर्माण कार्य अगाडि बढाइने भएको छ।

भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको सय करोड भारतीय रूपैयाँ स्टेडियम निर्माणका लागि खर्च हुने त्यस क्षेत्रबाट निर्वाचित प्रदेस सांसद दीपेन्द्र ठाकुरले जानकारी दिए।

उनका अनुसार स्टेडियम निर्माणका लागि करिब तीन सय अर्ब खर्च हुने अनुमान गरिएको छ।

मोदीजी यहाँ आएको बेला सय करोड भारतीय रूपैयाँ जनकपुर विकासका लागि सहयोग गर्ने घोषणा गर्नु भएको थियो, त्यो सबै रूपैयाँ स्टेडियम निर्माणमा लगाइने भएको छ,’ ठाकुरले भने,‘अपुग रकम प्रदेस सरकारले व्यवस्थापन गर्छ।’

स्टेडियमको डिजाइनका लागि प्रदेस सरकारले डिपिआर गर्न बजेटसमेत विनियोजन गरिसकेको छ। स्टेडियमको डिपिआर तयार पार्न प्रदेस सरकारले ४८ लाख रूपैयाँ विनियोजन गरेको हो।

डिपिआर कार्य पूरा भएसँगै टेन्डर निकाल्ने प्रदेस सरकारले तयारी गरेको छ।

‘डिपिआरको काम सुरू भएको छ, यसका लागि प्रदेस सरकारले ४८ लाख रूपैयाँ विनियोजनसमेत गरेको छ,’ प्रदेस सांसद ठाकुरले भने,‘डिपिआर पूरा हुनासाथ टेन्डर हुन्छ।’

पछिल्लो समय नेपाली क्रिकेट टिम आइसिसी विश्वकप प्रतियोगिताको क्वालिफायरका लागि छनोट भएपछि संघीय र प्रदेस सरकारहरूमाथि स्टेडियम निर्माणका लागि निरन्तर दबाब बढिरहेको छ।

जनसाधारणबाट निरन्तर बढिरहेको दबाब र क्रिकेटको स्तरवृद्धि गर्ने उद्देश्यका साथ प्रदेस सरकार जनकपुरधाममा स्टेडियम निर्माणका लागि अगाडि बढेको हो।

भारतीय प्रधानमन्त्री मोदीले जनकपुरको विकासका लागि भारत सरकारको तर्फबाट सय करोड भारतीय रूपैयाँ सहयोग घोषणा गरे पनि यो रूपैयाँ कहाँ खर्च गर्ने योजना तयार भएको थिएन।

प्रधानमन्त्री मोदीले घोषणा गरेको रकम बुझ्न भारत सरकारले पटक–पटक तकेदा गर्दै आइरहेको छ। चौतर्फी दबाब बढिरहेको बेला भारत सरकारबाट प्राप्त हुने सय करोड भारतीय रूपैयाँ स्टेडियम निर्माणमै खर्च गर्ने निक्र्यौलमा प्रदेस सरकार पुगेको हो।

अर्का प्रदेस सांसद शेषनारायण यादव भारतीय प्रधानमन्त्री मोदीले जनकपुर विकासका लागि भनेर घोषणा गरेको सय करोड भारतीय रूपैयाँ स्टेडियम निर्माणका लागि खर्च गर्न आफूहरूले मुख्यमन्त्रीसँग अनुरोध गरेको बताए।

भारत सरकारको तर्फबाट प्राप्त हुने रूपैयाँ स्टेडियम निर्माणका लागि खर्च गर्न मुख्यमन्त्री सकारात्मक रहेको उनको भनाइ छ।

‘भारत सरकारको तर्फबाट प्राप्त हुने सय करोड रूपैयाँ स्टेडियम निर्माणमा खर्च गर्न हामीले मुख्यमन्त्रीज्यूलाई अनुरोध गरेका छौं,’ सांसद यादवले भने,‘अन्तर्राष्ट्रियस्तरको स्टेडियम निर्माणका लागि उहाँ सकारात्मक हुनुहुन्छ। उहाँले भारत सरकारबाट प्राप्त हुने पूरा रकम स्टेडियम निर्माणमा खर्चृ हुने प्रतिवद्धता जनाउनु भएको छ।’

क्रिकेट क्षेत्रमा पुरानो इतिहास रहेको जनकपुरका खेलाडीहरू मैदान अभावमा यतिबेला रङ्गभूमि मैदानमा खेल्ने गरेका छन्। यो मैदानको स्तरोन्नती नभएकाले जनकपुरमा क्रिकेट खेल अपेक्षाअनुसार फस्टाउन सकिरहेको छैन।

तर, रामजानकी स्टेडियमको निर्माणपछि क्रिकेटमा रूची राख्नेहरूले सुविधासम्पन्न मैदानमा अभ्यासका लागि मौका पाउने अपेक्षा गरिएको छ।

यसका साथै नेपालमा हुने अन्तर्राष्ट्रियस्तरको क्रिकेट म्याचसमेत यो स्टेडियममा सञ्चालन गर्न सहज हुनेछ।

स्टेडियमको निर्माण भइसकेपछि प्रदेसको मात्रै नभएर देशकै क्रिकेटको स्तर माथि उठ्ने प्रदेस सांसद ठाकुर बताउँछन्।

‘रामजानकी स्टेडियम’ निर्माणका लागि गुठी संस्थान अधिनस्त रहेको यो जग्गा यतिबेला राष्ट्रिय खेलकुद परिषदले वार्षिक ९ लाख तिर्ने गरी लिजमा लिएको छ।

स्टेडियम निर्माणपछि प्रदेस सरकार वा उपमहानगरपालिकामध्ये कुनै एकलाई हस्तान्तरण गरेर सम्झौताअनुसारको रकम गुठी संस्थानलाई बुझाइनेछ।