तिब्बतीयनलाई नेपाली नागरिकता दिलाएको आरोपमा पाँच जना पक्राउ
काठमाडौं। तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
काठमाडौँको बबरमहल क्षेत्रमा महानगरीय अपराध अनुसन्धान महाशाखाले तिब्बतीलाई नेपाली नागरिकता दिलाउने गिरोका नाइके कृष्णबहादुर कटुवालसहित पाँचजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलकै न्युल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन्।
उनीहरुले निश्चित रकमको चलखेल गरी सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत कीर्ते गरी झुटा लिखत तथा नक्कली सिफारिस गरी नेपाली नागरिकता बनाइदिने गरेको पाइएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ।
प्रहरीले उजुरीका आधारमा उनीहरुमाथि अनुसन्धान गरिरहेको थियो।
उनीहरूलाई पक्राउ गरी नागरिकता ऐन तथा लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।