सिरियाली राष्ट्रपतिद्वारा यूएईको भ्रमण

सिरियाली राष्ट्रपतिद्वारा यूएईको भ्रमण

अबूधाबी। सिरियाका राष्ट्रपति बशर अल असद र संयुक्त अरब इमिरेट्स (यूएई)का उनका समकक्षी शेख मोहम्मद बिन जायद अल नाह्यानबीच भेटवार्ता भएको छ।

असद् आफ्नी पत्नी अस्मा अल असदसँग यूएईको राजकीय भ्रमणमा रहनुभएको सिरियाली राष्ट्रपतिको कार्यालय र संयुक्त अरब इमिरेट्स (यूएई) को सरकारी समाचार संस्था डब्लुएएमले जनाएको छ।

आइतबार यूएईको राजधानी अबुधाबी आइपुगेका सिरियाली राष्ट्रपति र प्रथम महिलालाई यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले स्वागत गरेका थिए।

राष्ट्रपति भवनमा आइतबार भएको भेटमा दुई देशका राष्ट्रपतिबीच द्विपक्षीय सम्बन्ध र आपसी हित प्राप्तिमा योगदान पुर्‍याउने सहयोगलाई मजबुत बनाउने उपायबारे छलफल भएको डब्लुएएमले जनाएको छ।

भेटमा यूएईका राष्ट्रपतिले भूकम्प पीडितप्रति समवेदना व्यक्त गर्दै सिरियाको यस विपत्तिबाट पार पाउन सक्ने क्षमता र दृढसंकल्पमा आफू विश्वस्त रहेको बताएका छन्।

सन् २०११ मा सिरियाली युद्ध सुरु भएपछि वर्षौंसम्म कूटनीतिक तवरमा अलग्गिएर बसेको सिरियालाई अरबमा फर्कन यूएईले सहयोग गरिरहेका बेला यो भ्रमण हुन लागेको हो।

यूएईले सन् २०१८ मा सिरियासँग कूटनीतिक सम्बन्ध पुनः सुरु गरेको थियो र गत महिना गएको भूकम्पका साथै सिरिया र साउदी अरबजस्ता प्रमुख क्षेत्रीय शक्तिहरूबीचको सम्बन्धलाई सामान्यीकरण गर्न मध्यस्थताको क्रममा सिरियामा राहत सहायता वितरणको नेतृत्व गरिरहेको छ।

यूएईले अरब तथा अन्य विदेशी मुलुकले उपलब्ध गराएको राहतसहित सयौं विमानलाई राहत लिएर भूकम्प प्रभावित सिरियामा पठाएको छ।