आइसीसी लिग–२ : पपुवा न्युगिनीद्वारा नेपालसामु ९६ रनको लक्ष्य प्रस्तुत
काठमाडौं। आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले जितका लागि ९६ रनको लक्ष्य पाएको छ। सन्दीप लामिछाने एक्लेले पाँच विकेट लिएपछि पपुवा न्युगिनीको पारी ९५ रन समेटियो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो। पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर खेल्दै सबै विकेट गुमाउँदै ९५ रन बनायो। पपुवा न्युगिनीका ब्याटर नेपाली बलरसामु निरीह साबित भए। पपुवा न्युगिनीले सुरुतमै महत्वपूर्ण दुई विकेट गुमाएको थियो। हिरी हिरी, सेसे बाउ, कप्तान असाद भाला र आल्र्स अमिनीले पारी सम्हाल्ने प्रयायस गरे। तर नेपाली बलरले उनीहरुलाई खुलेर खेल्न दिएनन्। भालाले २०, बाउले १८, अमिनीले १६ तथा हिरीले १४ रन बनाए। अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन।
बलिङतर्फ नेपालका लागि लामिछानेले पाँच विकेट लिए। उनले १० ओभर बलिङ गर्ने क्रममा एक मेडन राख्दै २५ रन मात्र खर्चे। यस्तै ललितनारायण राजवंशी र कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिए।
नेपाल केहीबेरमा जवाफी ब्याटिङ गर्ने तयारीमा छ।