दोहामा उपप्रधानमन्त्रीलाई प्रश्न-रेमिट्यान्सको सदुपयोग कहिले हुन्छ ?

दोहामा उपप्रधानमन्त्रीलाई प्रश्न-रेमिट्यान्सको सदुपयोग कहिले हुन्छ ?

दोहा। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) ले विदेशबाट श्रमिकले पठाएको पैसा देशमा सहि ढंगले सदुपयोग नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

अतिकम विकसित मुलुक (एलडीसी)को पाँचौं सम्मेलनका लागि दोहा भ्रमणमा रहेका उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठमार्फत शर्माले सरकारको ध्यानाकर्षण गराएका हुन्।

५ मार्चदेखि ९ मार्चसम्म चल्ने सम्मेलनमा नेपाली टोलीको नेतृत्व श्रेष्ठले गरेका छन्।

सरकारी टोली आएको मौकामा एनाआरनए कतारले नेपालीका समस्या र समाधानका लागि सरकारले चाल्नुपर्ने कदमका बारेमा उपप्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

 

उपाध्यक्ष शर्माले विदेशबाट पठाएको ७० प्रतिशतभन्दा बढी रेमिट्यान्स अनुत्पादक क्षेत्रमा खर्च भइरहेको बताउँदै त्यसलाई रोक्न सरकार संवेदनशील हुनुपर्ने बताए। श्रमिकले पठाएको पैसालाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्ने र त्यसका लागि सरकाले सामुहिक लगानीको वातावरण सिर्जना गर्न उनले आग्रह गरे।

नेपालमा रेमिट्यान्स भित्रिएको छ भनेर मख्ख मात्र नपर्न आग्रह गर्दै उत्तिकै मात्रामा पैसाबाहिर गइरहेको दावी समेत उनले गरे। ‘रेमिट्यान्स भित्रिएको मात्र छैन बाहिर पनि गइरहेको छ, शर्माले भने।’ विदेशबाट पठाएको झण्डै ८ खर्व रेमिट्यान्सको १० प्रतिशत मात्र सामूहिक लगानीमार्फत जम्मा गर्न सके वार्षिक ८० अर्व पूँजी संकलन हुने र यो नेपालको विकास बजेटको २५ प्रतिशतभन्दा धेरै हुने कुरा शर्माले उपप्रधानमन्त्रीलाई सुनाए।

‘हाम्रो रेमिट्यान्सको ७०% भन्दा धेरै अनुत्पादक क्षेत्रमा खर्च भैरहेको छ, अर्कोतर्फ तरकारी, खाद्यान्नदेखि इन्धनसम्म आयात गर्दा ६० प्रतिशतभन्दा बढी रेमिट्यान्स बाहिर नै गइरहेको छ,’ उनले उपप्रधानमन्त्रीलाई सोधे, ‘ रेमिट्यान्सको सही सदुपयोग कहिले हुन्छ?’ विदेशमा रहेका झण्डै ९८ प्रतिशत नेपालीको तन प्रदेशमा रहेपनि मन हरपल नेपालमा हुने भएकाले विदेशमा सिकेको सीप, ज्ञान र अनुभवलाई देशसँग जोड्न सरकारले काम गर्नुपर्ने उनले बताए।

नेपालीहरु ‘आफ्नो देशको हिरा छोडेर जीरा खोज्न’ विदेसिनु परेको यथार्थ सुनाउँदै शर्माले भने–‘ हामीसँग झण्डै ४२ हजार मेगावाट बिजुली उत्पादन क्षमता हुनु, विश्वका १० उच्च हिमाल मध्ये ८ हिमाल नेपालमा नै रहनु, बुद्धको जन्म स्थल हुँदा बौद्ध धर्मालम्बीहरूको तीर्थ लुम्बिनी बन्नु, अथाह प्राकृतिक स्रोत हुँदा पनि हामीले विकास गर्न नसक्नु दुर्भाग्य हो।’

अहिले विश्व क्लिन इनर्जीकोपछि लागिरहँदा नेपालले पनि योजनाबद्धढंगबाट लागे नेपालमा आयात हुने धेरै कुरालाई प्रतिस्थापन गर्न सकिने शर्माको भनाइ छ।

उनी भन्छन्–‘क्लिन इनर्जीबाट कुकिंग ग्याँसलाई रिप्लेस गर्न सकिन्छ भने त्यसको केही गुणा बढि पेट्रोल अनि डिजल न्यूनिकरण गर्न सकिन्छ, त्यसका लागि सरकारले आजैबाट काम शुरु गर्नुपर्छ।’

वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुका लागि विशेष प्राधिकरण नै निर्माण गरेर दीर्घकालिन योजना बनाउन समेत शर्माले आग्रह गरे।

‘रेमिट्यान्सको १० प्रतिशत र सरकारको तर्फबाट प्रोत्साहन रकम हालेर एक लगानी कोषको यथासक्य स्थापना गरी देश विकास अनि वैदेशिक रोजगारको सुरक्षित अवकास योजना ल्याउन आवश्यक छ,’ शर्माले सुझाएका छन्।

शर्माले विदेशबाट मतदान गर्ने प्रावधान, वैदशिक रोजगारको बीमा रकमको बृद्धि, गैरआवासीय नागरिकता तथा गोर्खाजका समस्यालाई अविलम्ब सम्बोधन गरिनुपर्ने माग सरकारका उपप्रधानमन्त्री श्रेष्ठ समक्ष राखेका छन्।